माडी, चितवन । माडीमा बिजुली प्रवाह गर्न निकुञ्जभित्र बिछ्याइएको भूमिगत केबुलमा रहेको फल्ट पत्ता लागेको छ । नेपाल विध्युत प्राधिकरणका प्राविधिकहरुले फल्ट एलोकेटर मेसिनको सहयोगमा बनकट्टा पोष्ट नजिकै केबुल फल्ट रहेको पत्ता लगाएका हुन् ।
बिहीबार दिनभर फल्ट रहेको स्थान पत्ता लगाउने प्रयास गरेकोमा साँझपख फल्ट पत्ता लागेको हो । तर समायाभावका कारण आज मर्मत गर्न नसकिएको र शुक्रबार साँझपखसम्म बिजुली सुचारु हुने प्राधिकरणको माडी प्रशाखाले जनाएको छ । केबुलमा फल्ट देखिँदा बिहीबार बिहानबाटै माडी उपत्यकामा विद्युत अवरुद्ध रहेको छ ।
माडीमा विध्युत लैजान चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युत लाइन भूमिगत गरिएको छ । त्यसको सात ठाउँमा ज्वाइन्टहरू छन् । ती ठाउँहरुमा पटक पटक समस्या आउने गरेको छ । पटक पटक विद्युत अवरुद्ध हुँदा माडीका विद्युत उपभोक्ताहरुसंगै प्राधिकरणका कर्मचारीहरुले समेत सास्ती भोग्दै आएका छन्