माडी, चितवन । माडी-८, शिवद्वार गाउँमा १६ भन्दा धेरै पशु चौपायाहरुलाई टोकेको कुकुरमा रेबिज संक्रमण रहेको पुष्टी भएको छ ।
गत कार्तिक अन्तिम साता शिवद्वार क्षेत्रमा एकवटा (बहुला) कुकुरले करीब दुई दर्जनको संख्यामा पशु चौपायाहरुलाई टोकेको थियो । त्यसरी टोकेको कुकुरलाई खाडल खनी गाड्नुअघि माडी नगर पशुपंक्षी सेवा शाखा अन्तरगत भेटेरिनरी अस्पतालका विज्ञहरुले कुकुरको मस्तिष्कको नमुना संकलन गरेका थिए ।
संकलित नमुना परीक्षणका लागि केन्द्रीय पशुपंछी रोग अन्वेषण प्रयोगशालामा पठाइएकोमा रेबिज पोजेटिभ देखिएको हो । सो कुकुरले टोकेका जनावरहरूलाई ०, ३, ७, र १५ दिनमा रेबिज बिरुद्धको खोप लगाइ सकिएको माडी भेटेरिनरी अस्पतालले जनाएको छ । त्यसबाहेक सो क्षेत्रका सामुदायिक र घरपालुवा कुकुरहरूलाई पनि खोप लगाइएको शाखा प्रमुख डा. रबिन बस्ताकोटीले बताउनुभयो ।
रेबिज रोगबाट बच्न र बचाउन आफू वरपरका कुकुर तथा विरालोलाई माडी भेटेरिनरी अस्पतालमा ल्याई निःशुल्क रेबिज विरुद्धको खोप लगाउन डा. बस्ताकोटीले अनुरोध गर्नुभयो । आफ्ना पशु र आफ्नो समुदायको सुरक्षाका लागि सतर्कता अपनाउन र सहकार्य गर्न सो पशुपंक्षी अस्पतालले सार्वजनिक आग्रह गरेको छ ।