चितवन । विश्वभर देखापर्ने पाँच नयाँ संक्रामक रोगमध्ये तीनवटा रोग जनावरबाट मानिसमा सर्ने गरेको विज्ञ चिकित्सकहरुले बताएका छन् । जुनोटिक (पशुपंक्षीबाट मानिसमा सर्ने) रोगहरुको जोखिम न्यूनीकरणका लागि बिहीबार सौराहामा सम्पन्न ‘एक स्वास्थ्य अवधारणा’ विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञ चिकित्सक एवं अधिकारीहरुले सो जानकारी गराएका हुन् ।
सरुवारोग अस्पताल टेकुका बरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनले पछिल्लो समय कोभिड १९, इबोला, मर्स, रेविज जस्ता संक्रामक रोगहरु जनावरबाट मानिसमा सरी महामारीको रुप लिएको बताउँदै विश्वभर जुनोटिक रोगहरुको जोखिम बढेको बताउनुभयो ।
त्यस्तै, वरिष्ठ पशु चिकित्सक डा. कमलप्रसाद गैरेले करीब ७० प्रतिशत रोग जनावरबाट मानिसमा सरेको जानकारी दिँदै अहिलेकै अवस्थामा नेपालमा महामारी भए ठूलो क्षती व्यहोर्नुपर्ने औंल्याउनुभयो । मानिसलाई लागेको क्षयरोग हात्तीलाई समेत सरेको र जंगली स्यालबाट ठूलो संख्यामा घरपालुवा पशु चौपायामा रेबिज सरेको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी डा. सन्तोष दुलालले एक स्वास्थ्य अवधारणामा रही मावन र वन्यजन्तुबीचको अन्तरद्वन्द्व र सहअस्तित्वको दृष्टिकोणबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा चितवनका क्रियाशील सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो भने रत्ननगर नगरपालिकाका वडाध्यक्षहरु समेत सहभागी रहेका थिए ।