चितवन । पछिल्लो समय चितवनका शहरी क्षेत्र र घरबस्तीमै स्यालको टोकाईको घटना बढ्दै गएको छ । स्यालहरु प्राकृतिक रुपमै रेबिजका बिषाणुहरुको बासस्थान रहेकाले स्यालको टोकाईका कारण अन्य पशुचौपाया र समुदायमै रेबिजको जोखिम बढेको हो ।
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/central.gif?resize=1200%2C138&ssl=1)
बिहीबार सौराहामा सम्पन्न ‘एक स्वास्थ्य अवधारणा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पशुसेवा कार्यालय चितवनका अधिकृत डा. सविना मिश्राले चितवनमा कुकुर भन्दा पनि स्यालबाट रेबिज संक्रमणको जोखिम बढेको जानकारी दिनुभयो । विगतमा मान्छे देख्दा भाग्ने स्यालहरु अहिले आक्रमण गर्न तम्सिने र पशुचाैपायहरूलाइ समेत टोक्ने गरेको उहाँले सुनाउनुभयो ।
![](https://i0.wp.com/narayanionline.com/wp-content/uploads/2024/12/5x33-cm-for-Paper-copy-1-1536x232.jpg?resize=1536%2C232&ssl=1)
त्यस्तै, जिल्ला स्वास्थ्य कार्यालय भरतपुरका रोग नियन्त्रण अधिकृत गुरुप्रसाद कँडेलले चितवनको भरतपुरका शहरी क्षेत्रमै स्याल हुल बाधेर हिड्ने र मान्छेलाई टोक्ने गरेको औंल्याउनुभयो । गत आर्थिक बर्ष २०८०/८१ म स्यालसहित कुकुर समेतको टोकाईको २४६७ घटना रेकर्डमा आएको उहाँले जानकारी दिँनुभयो । त्यसमध्ये खैरहनी नगरपालिकामा सर्बाधिक १६०८ र माडीमा ४१४ घटना दर्ता रहेको उहाँले जनाउनुभयो ।
![](https://i0.wp.com/swadeshpost.com/wp-content/uploads/2024/10/Watashino-Ad-Long-1.jpg?resize=1000%2C120&ssl=1)
युएसएआईडी जल जंगल परियोजनाको सहयोगमा स्वास्थ्य लाइभद्वारा आयोजित सो अन्तरक्रियात्मक कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्त, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना, निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठ लगायतले मानव र वन्यजन्तुबिचको द्वन्द्व न्युनिकरणका विभिन्न पक्षमा आफ्नो धारणा राख्नुभएको थियो ।