माडी, चितवन । माडीको खैरहनीस्थित महेश्वरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा तुलाराम दवाडी पुनर्चयन हुनुभएको छ । माडी-४, खैरहनीस्थित सहकारीको आफ्नै भवन प्राङ्गणमा शनिवार सम्पन्न ३१औं बार्षिक साधारणसभा एवं नवौं अधिवेशनबाट निवृत्त शिक्षक तुलाराम दवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्बसम्मत चयन भएको हो ।
सहकारीको उपाध्यक्षमा नारायण प्रसाद महतो, सचिवमा कुलानन्द भुसाल, कोषाध्यक्षमा मनबहादुर भुजेल र सहसचिवमा देवकुमारी कार्की चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा टिकाराम पौडेल, गोकुलानन्द लामिछाने, कुश्माखर चापागाईं, लिला सापकोटा र जानकी खड्का महतो चुनिनुभएको छ । त्यसैगरी, सोही साधारणसभा एवं अधिवेशनबाट मोहन प्रसाद लामिछानेको संयोजकत्वमा सुवास कुमार तिवारी र सन्तोष कुमार दाहाल सदस्य रहनुभएको लेखा सुपरीवेक्षण समिति समेत चयन भएको छ ।
सहकारीले गत आर्थिक बर्ष २०८०/८१ मा करीब १४ लाख ८८ हजार रुपैंया मुनाफा संकलन गरेको छ ।अधिवेशनमा प्रस्तुत भई पारित आयव्यय प्रतिवेदन अनुसार सो सहकारीले कूल २९ लाख ३३ हजार ७२३ रुपैंया आम्दानी गर्दा १४ लाख ४५ हजार ७७० रुपैंया खर्च गरेको हो । संकलित मुनाफाबाट ८ लाख ५० हजार ५७३ रुपैंया जोखिम बहन कोषमा राख्दा कुल सञ्चालन मुनाफा ६ लाख ३७ हजार ३७९ रुपैंया रहेको सहकारीका लेखा संयोजक (हाल कोषाध्यक्ष) मनबहादुर भुजेलले जनाउनुभयो ।
साधारणसभा तथा अधिवेशनले शेयर लाभांश रकमलाई शेयर पुँजीमा समायोजन गर्ने, दुग्ध उत्पादक किसानलाई प्रोत्साहनका कार्यक्रम ल्याउने, युवा स्वरोजगारको रकम माग गरी आयआर्जन कार्यक्रम सञ्चालन गर्ने, संस्थाको आर्थिक कारोबार थप व्यवस्थित गर्ने तथा संस्थाको विनियम, प्रशासनिक तथा ऋण एवं वचत नीति पारित गर्ने लगायतका निर्णय गरिएको अध्यक्ष तुलाराम दवाडीले जनाउनुभयो । सहकारीका अध्यक्ष तुलाराम दवाडीको अध्यक्षतामा सम्पन्न साधारणसभामा माडी नगरप्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्य रहेको थियो ।