माडी, चितवन । बागमती प्रदेशसभा सदस्य गिरीबहादुर (ज्ञानुजंग) लामाले आफ्नो पहलबाट माडीमा बैकुण्ठ ताल र सोमेश्वर जाने बाटो ‘प्रदेश मार्गमा सुचिकृत’ भएको जिकिर गर्नुभएको छ ।
नेपाल तामाङ घेदुङ माडी नगर समितिद्वारा आयोजित आदिबासी जनजाति भेटघाट तथा चियापान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै चितवन क्षेत्र नं. ३ (क)का प्रदेश सांसद एवं राप्रपा नेता समेत रहनुभएका लामाले सो जिकिर गर्नुभएको हो ।
आफू प्रदेश सांसद रहेकै अवधी अन्तरगत २०८० सालमा माडी ८ मा केहि बजेट पठाएको र यसबर्ष बैकुण्ठ ताल तथा सोमेश्वर जाने बाटो प्रदेशमार्गमा सुचिकृत गर्न पहल गरेको उहाँले बताउनुभयो । थेप्चो नाक भएको मानिस भएपनि आफूले राजनीति गर्न सिकिसकेको उहाँले टिप्पणी गर्नुभयो ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेल र भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल रहँदा आफूले दल (राप्रपा) र अन्य सांसदहरुको प्रतिनिधिका रुपमा पहल गर्दै भौतिक पूर्वाधार मन्त्रालयको राजपत्रमा सो योजना प्रकाशन गर्न सकेको दाबी गर्नुभयो ।
माडी १ का वडाध्यक्ष समेत रहनुभएका नेपाल तामाङ घेदुङ माडी नगर समितिका अध्यक्ष अमित कुमार लामाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडीका तामाङ समुदायको सहभागिता रहेको थियो । टुंग्ना र डम्फु बजाएर समुद्घाटन गरिएको सो कार्यक्रममा तामाङ साँस्कृतिक प्रस्तुति समेत देखाइएको माडीका तामाङ अगुवा म्लाङसिंह (एम.एल.) तामाङले जानकारी दिनुभयो ।