माडी, चितवन । क्यान्सर पीडित भूपराज पाठकको उपचार सहयोगार्थ सहयोगदाताहरुबाट स्वतस्फूर्त आर्थिक सहयोग संकलनको क्रम बढेको छ ।
काठमाडौं र भारतको नयाँदिल्लीमा हुने ब्लड क्यान्सर उपचारका लागि करीब पचास लाख रुपैंया खर्च लाग्ने अवस्था रहेकोमा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय काठमाडौंमा कार्यरत, माडी-१ बनकट्टा निवासी दिपक पाण्डेले रु.१० हजार उपचार सहयोग गर्नुभएको छ ।
त्यसैगरी, माडी नगरपालिका-४, सितलपुर गाउँ निवासी (हाल वैदेशिक रोजगारी अन्तरगत जापानमा कार्यरत) अञ्जना पाण्डे एवं नारायणी पाण्डेले अस्पतालमै उपस्थित भई ५० हजार रुपैंया नगद सहयोग गर्नुभएको बिरामीका दाजु विपिन पाठकले जनाउनुभयो ।
यसबाहेक अनेरास्ववियुका विद्यार्थी नेता ऋषि रेग्मीले २० हजार रुपैंया सहयोग गर्नुभएको छ । विद्यार्थी नेता रेग्मीले मोबाइल बैंकिङ विधिबाट रकम पठाई सहयोग गर्नुभएको हो । यसबाहेक सुमन नामबाट पनि १० हजार रुपैंया उपचार सहयोग रकम संकलन भएको पाठकको बैंक स्टेटमेन्टमा देखिएको छ ।
निम्नवर्गिय परिवारका क्यान्सर पीडित पाठक एक कलाकार एवं शिक्षकका रुपमा कार्यरत रहनुभएको छ । पाठकको उपचार सहयोगार्थ चितवनका युवाहरुले भुपराज पाठक उपचार अभियान सञ्चालन सुरु गरेका छन् । अभियानले पूर्ण आर्थिक पारदर्शिता रहनेगरी आवश्यक उपचार खर्च जुटाउन स्वदेश र प्रवासमा पहल थालेको जनाएको छ ।