माडी, चितवन । लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियानको समापनका अवसर पारी माडीमा अटो चालक, ठेकदार, मुर्तीकार, उद्योगी र फोहोर व्यवस्थापनकर्ता महिलाहरुलाई सम्मान गरिएको छ ।
सम्मानित हुने महिलाहरुमा अटो चालक अस्मिता बोट, ठेकदार (डकर्मी) सियनी महतो, बुद्धिमाया तामाङ, मुर्तीकार पार्वती बि.क., ब्लक उद्योगी जनुई महतो र सरसफाईकर्मी लक्ष्मी सुनार, संगिता सुनार, रिखिमाया तामाङ र अस्मिता तामाङ रहनुभएको छ ।
माडी नगरपालिकाको आयोजना र चितवन सक्रिय महिला प्रतिष्ठानको सहकार्यमा माडी भिलेज रिसोर्टमा सम्पन्न श्रमिक महिलाहरूलाई सम्मान तथा कानुनी सचेतना सम्बन्धी अभिमुखिकरण कार्यक्रममा माडीका सो साहसी र उदाहरणीय महिलाहरुलाई सम्मान गरिएको हो ।
नगरस्तरिय महिला तथा बालवालिका समितिका संयोजक चन्द्रकुमारी बानियाँको अध्यक्षता तथा माडी नगर प्रमुख ताराकुमारी काजी महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अधिवक्ता फूलमाया रानाभाट र पवित्रा सुवेदीले कानुनी विषयमा अभिमुखिकरण गर्नु भएको थियो ।