माडी, चितवन । माडीको बरुवास्थित सोमेश्वर माध्यमिक विद्यालयले मनाउन लागेको स्वर्ण महोत्सवको उद्घाटन समारोहमा संघीय शिक्षा मन्त्री विद्या भट्टराई तथा मूल समारोहमा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्य रहने भएको छ ।
बिहीबार विद्यालयले पत्रकार सम्मेलनमार्फत स्वर्ण महोत्सव विशेष कार्यक्रमहरू सार्वजनिक गर्दै सो जानकारी दिएको हो । महोत्सव आयोजनाका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखबहादुर गुरुङको संयोजकत्वमा २५१ सदस्यीय मूल आयोजक समिति गठन भई हाल निर्माण कार्य एवं पूर्वतयारी अगाडि बढाइएको विद्यालयले जनाएको छ ।
एक महिना अवधीभर सञ्चालन हुने स्वर्ण महोत्सवका कार्यक्रमहरुमा अभिभावक सचेतना तथा अन्तरक्रिया कार्यक्रम, अन्तर सदनात्मक खेलकुद प्रतियोगिता, पूर्व विद्यार्थी पूनर्मिलन, दिवंगत शिक्षक सुर्य अधिकारी र बेगबहादुर खत्रीको स्मृतिमा मा.वि. स्तरीय (छात्र, छात्रा) भलिबल प्रतियोगिता, मा.बि.स्तरीय कविता प्रतियोगिता, लिडर र फिडर विद्यालयबिच कवितावाचन प्रतियोगिता, सरसफाई कार्यक्रम, जिल्लास्तरीय साहित्यिक गोष्ठी, निबन्ध प्रतियोगिता, विषयगत प्रदर्शनी रहेका छन् ।
त्यसैगरी, माडीस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल स्पर्धा, टोलस्तरीय हाजिरीजवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम, राष्ट्रिय कलाकारहरुको प्रस्तुति सहित साँस्कृतिक कार्यक्रम, सोमेश्वर मा.बि. स्काउटको दीक्षान्त, माडी नगर विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु रहेको विद्यालयका प्रधानाध्यापक इन्दिरा तिवारीले बताउनुभयो ।
विद्यालयका अध्यक्ष लेखबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा विद्यालयका प्रध्यानाध्यापक इन्दिरा तिवारी, सहायक प्रध्यानाध्यापक युवराज लामिछाने र चन्द्रमणी महतो, पूर्व विद्यार्थी संघ सो.मा.बि. अध्यक्ष रबिन्द्रसिंह ठकुरी, शिक्षक, कर्मचारी पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण स्वर्ण महोत्सव प्रचारप्रसार संयोजक टिकाराम सुवेदीले गर्नुभएको थियो ।