

माडी, चितवन । नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदका लागि माडी जेसिजका निवर्तमान अध्यक्ष सुवास गौतम विजयी हुनुभएको छ । पूर्वी नेपालको ईटहरीमा सम्पन्न नेपाल जेसीजको ५१औं राष्ट्रिय महाधिवेशनमा जेसिज बर्ष २०२५का लागि राष्ट्रिय उपाध्यक्ष पदमा गौतम विजयी हुनुभएको हो ।

गौतमले ८१८ मत पाउनुभयो । माडी-७ निवासी जेसी गौतम माडी जेसिजको बर्ष २०२३ का अध्यक्ष तथा बर्ष २०२१ का लागि कोषाध्यक्षका रुपमा जेसिज अभियानमा सरिक रहनुभएको थियो । राष्ट्रिय उपाध्यक्षका लागि गौतमसंगै देशैभरका १८ जना चुनाबी स्पर्धामा रहेका थिए, त्यसमध्ये १२ जना निर्वाचित भएका हुन् ।

यसैबिच जेसिज निर्वाचनमा राष्ट्रिय अध्यक्ष पदमा मनोहरा जेसिजबाट रजनी थापा निर्वाचित हुनुभएको छ । त्यस्तै, राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष पदका लागि चितवनकै गीतानगर जेसिजका जेसी कृष्ण सापकोटा समेत विजयी हुनुभएको छ । जेसिज १८ देखि ४० बर्ष सम्मका युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने विश्वव्यापी संस्था हो ।
