

माडी, चितवन । पूर्वलक्षित रकम संकलन भएसंगै रक्तक्यान्सर पीडित भुपराज पाठकको उपचारमा सघाउन सञ्चालित सहयोग संकलन अभियान बन्द भएको छ । उपचार सहयोगका निम्ति ५० लाख रुपैंया संकलन गर्ने लक्ष्यसहित माडीसंगै स्वदेश र प्रवासमा सञ्चालित अभियानले पूर्वलक्षित उद्देश्य पुरा गर्दै सो रकम संकलन पुरा गरेसंगै अभियान रोकिएको हो ।

पाठकको उपचारको सम्पूर्ण प्रक्रियासहित यातायात र आवास समेतमा गरी हालसम्म १८ लाख २ हजार २४६ रुपैंया खर्च भएको छ । त्यस्तै बैंकखाता, गोफण्डमी र नगद मौज्दात गरी कूल ३१ लाख ६८ हजार ९५८ रुपैंया ८२ पैसा बाँकी रहेको उपचार सहयोग अभियान समितिले जनाएको छ । समितिले बैंक स्टेटमेन्ट सहित आयव्ययको पूर्ण विवरण सार्वजनिक समेत गरेको हो ।


माडीको बसन्तपुरमा बुधबार बसेको भुपराज पाठक उपचार सहयोग समितिको बैठकले अभियानका क्रममा प्रत्यक्ष र परोक्ष रुपमा अभियानमा सहयोग गर्ने, सहभागी हुने सबै सबैलाई धन्यवाद व्यक्त गर्दै अभियान रोक्ने निर्णय गरेको हो । अभियानले पाठकको पूर्ण शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ । यसैगरी विभिन्न स्थान, संस्था वा व्यक्तिले संकलन गरिसकेको तर उपचार सहयोग कोषमा आउन बाँकी रहेको रकम तत्कालै बिरामीको बैंक खातामा दाखिला गरिदिन पनि सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
