माडी, चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका जंगलले धान्न सक्नेभन्दा धेरै बाघ रहेको औंल्याउँदै मान्छे खुवाएर बाघ पाल्न नसकिने बताउनुभएको छ ।
काठमाण्डौमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताउनुभयो ।
उहाँले नेपालको वनको क्षमताअनुसार एक सय ५० वटाभन्दा धेरै बाघ पाल्न नसकिने भएपनि अहिले नेपालमा तीन सय वटाभन्दा धेरै बाघ रहेको औंल्याउनुभयो । अरूले भनेअनुसार बाघको सङ्ख्या अब बढाउन नसकिने भन्दै प्रधानमन्त्री ओलीले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए नेपालले खोरसहित उपलब्ध गराउने तर नेपालको जंगलमा बाघको संख्या बढाउन भने नसकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले साढे तीन सयभन्दा बढी बाघ छन् । जङ्गलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ की भनेर हिँड्नुपर्छ । हामीले पनि चाहिने खालका काम गर्नुपर्छ । बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ । डेढ सय बाघ भए पुग्छ ।’ ओलीले भन्नुभयो ।
यसैगरी, प्रधानमन्त्री ओलीले नेपाललाई ३० प्रतिशत मात्रै जङ्गल भए पुग्ने उल्लेख गर्दै नेपालले गरेका कामको सही मूल्याङ्कन र सम्मान हुन नसके नेपालले अरू देशका लागि जङ्गलको संरक्षण गर्न नसक्ने बताउनुभयो । उहाँले नेपाललाई ४७ प्रतिशत जङ्गल राखेको सम्मान र कदर नगरेमा ३० प्रतिशत मात्रै जङ्गल राख्ने र बाँकी भू–भागमा अन्न उब्जाएर खाने बताउनुभयो ।