

माडी, चितवन । स्वर्ण महोत्सव २०८१ को औपचारिक समुद्घाटनको मिति नजिकिँदै जाँदा माडीको सोमेश्वर माध्यमिक विद्यालयमा महोत्सव केन्द्रीत भौतिक निर्माण कार्यले तीब्रता पाएको छ ।

महोत्सवलाई मध्यनजर गर्दै विद्यालय प्राङ्गणमा पुष्प बगैंचा सहित अन्य भौतिक संरचनाहरुको निर्माण र रंगरोगन कार्यले तीब्रता पाएको हो । महोत्सवको औपचारिक समुद्घाटन आउँदो पौष २६ गते शिक्षामन्त्री विद्या भट्टराईबाट हुने कार्यतालिका रहेको छ । त्यस्तै, माघ ३ गते महोत्सव मूल समारोहमा पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’को प्रमुख आतिथ्य रहँदैछ ।

स्वर्ण महोत्सव अन्तरगत खेलकुद प्रतियोगिता, पूर्व विद्यार्थी पूनर्मिलन, भलिबल प्रतियोगिता, कविता प्रतियोगिता, कविता वाचन प्रतियोगिता, सरसफाई कार्यक्रम, जिल्लास्तरीय साहित्यिक गोष्ठी, निबन्ध प्रतियोगिता र विषयगत प्रदर्शनी सञ्चालन हुनेछन् ।

त्यसैगरी, माडीस्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिता, टोलस्तरीय हाजिरीजवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम, सोमेश्वर मा.बि. स्काउटको दीक्षान्त, माडी नगर विद्यालयस्तरीय नृत्य प्रतियोगिता र राष्ट्रियस्तरका कलाकारहरुको सहभागितामा बृहत् साँस्कृतिक कार्यक्रम समेत रहेको छ । महोत्सवको आधिकारिक मिडिया स्वदेश एफ.एम. रहेको छ ।