

माडी, चितवन । रक्तक्यान्सर पीडित भूपराज पाठकमा क्षयरोग (टि.बी.) को समेत संक्रमण देखापरेको छ । भारतको नयाँदिल्लीस्थित राजिब गान्धी हस्पिटलमा उपचार चलिरहेका पाठकमा क्षयरोग समेतको संक्रमण देखिएसंगै अस्पतालले क्षयरोगको औषधी चलाएको हो । क्षयरोगको औषधी सुरु भएसंगै उहाँको स्वास्थ्यमा केहि सुधार देखिएको छ ।

पाठकलाई किमोथेरापी उपचार सुरु हुँदैगर्दा पहिलो किमो चढाइएकोमा स्वास्थ्यमा केहि जटिलता देखिएसंगै आई.सि.यु.मा राखेर उपचार गरिएको थियो । क्षयरोग बिरुद्धको औषधी सेवन गरेसंगै स्वास्थ्यमा केहि सुधार आएको र आउँदो शुक्रबार रक्तक्यान्सर निदानका लागि दोश्रो किमोथेरापी चढाउने तयारी गरिएको अस्पताललो जनाएको छ ।

यसैबिच, पाठकको उपचार सहयोगका लागि श्री भद्रकुमारी राष्ट्रिय आधारभूत विद्यालय भरतपुर–५ गुलाफबागमा कार्यरत शिक्षक तथा कर्मचारीबाट यसअघि नै संकलित ११ हजार ६७० रुपैंया पाठकको बैंक खातामा दाखिला भएको छ ।

सहयोग संकलन अभियान बन्द भइसकेपछि पनि नेत्रहीन युवा संघ नेपालले रु. ८९ हजार र जनजीवन माध्यमिक विद्यालयका शिक्षक कर्मचारीहरुले ५० हजार रुपैंया उपचार खातामा जम्मा गरेका छन् । सहयोग संकलन अभियान बन्द भइसकेपनि अभियानकै क्रममा संकलन भएको तर खातामा दाखिला हुन बाँकी रहेको रकम दाखिला भएको हो ।