

माडी, चितवन । बाटो नखुलाए नगरपालिकामा तालाबन्दी गर्ने स्थानीयको दबाबबिच माडी नगरपालिकाले माडी-१, चैनपुरस्थित पर्यटनमार्ग खुलाएको छ । आइतबार र सोमबार माडी नगरपालिकाका निर्माण साधनहरुले अवरुद्ध ट्रयाक खुलाई ग्राभेल समेत राखेका हुन् । चैनपुरस्थित पर्यटनमार्ग (चक्रपथ सडक) मा निर्माण बाँकी रहेको १५० मिटर खण्ड खुला भएसंगै माडी चक्रपथको ट्रयाक पुरा भएको छ ।

यसअघि, गत पौष १५ गते माडी-१, चैनपुरबासीहरुले एक साताको समयसीमा दिँदै सो अवधीभित्र बाटो नखुलाए नगरपालिकामा तालाबन्दी गर्ने चेतावनी दिएका थिए । सो बाटोमा परेको (ऐलानी) जमीन भोगचलन गरिआएको एक परिवारले त्यहाँ बाटो बनाउन नपाइने जिकिर गर्दै बाटो निर्माणकार्य रोक्दै आएको थियो ।

सडक खुलाउन चितवन जिल्ला अदालतले समेत आदेश जारी गरेको भएपनि बाटो खुलाउन खोजिएको स्थानको जमीन भोगचलन गरेको परिवारको अवरोधका कारण अलपत्र रहेको थियो । बाटो खुलाएसंगै स्थानीयबासीले माडी नगरपालिकालाई धन्यवाद व्यक्त गरेका छन् ।
