

माडी, चितवन । माडीको सोमेश्वरगढी संरक्षण तथा व्यवस्थापन समितिले सोमेश्वरगढीस्थित कालीका मन्दिर र अन्य धार्मिक सम्पदास्थल वरपरको वनलाई धार्मिक बन बनाउने पहल थाल्ने निर्णय गरेको छ ।

समितिको सोमबार माडी क्याम्पसको सभाहलमा सम्पन्न दोश्रो बार्षिक साधारणसभाले सोमेश्वर क्षेत्रलाई धार्मिक वनका रुपमा दर्ता गरी सो क्षेत्रमा धार्मिक पर्यटन, भौतिक पूर्वाधारहरुको निर्माण एवं पर्यापर्यटन विकास अगाडि बढाउने निर्णय गरेको हो ।


सोमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको सीमा क्षेत्रबाहिर राष्ट्रिय वन क्षेत्रमा निश्चित क्षेत्रफल र सीमा कायम गरी धार्मिक वन घोषणा गर्न चितवन राष्ट्रिय निकुञ्ज कार्यालयसंग पहल गर्ने निर्णय गरिएको समितिका अध्यक्ष पिताम्बर पोखरेलले बताउनुभयो ।

अध्यक्ष पोखरेलको अध्यक्षतामा सम्पन्न साधारणसभामा माडी नगर उपप्रमुख खेमप्रसाद महतोको प्रमुख आतिथ्य र नगर कार्यपालिका प्रवक्ता डण्डपाणि पौडेलको विशिष्ट आतिथ्य रहेको थियो भने कार्यक्रममा समितिका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।