

माडी, चितवन । सोमेश्वर माध्यमिक विद्यालयको ऐतिहासिक स्वर्ण महोत्सवका अवसरमा चितवन जिल्लास्तरीय साहित्यीक गोष्ठी सञ्चालन भएको छ । गोष्ठीमा सहभागी रहँदै चितवनका चर्चित लेखक र साहित्यकारहरु रविकिरण निर्जिव, पोषराज पौडेल, भजुमनराम महतो, राजेन्द्र घायल, पूर्ण बहादुर अधिकारी, डिल्लिराम वाग्ले, विकास बराल, प्रवीण सन्नाटा, सि.एम. चितौने साथै साहित्यानुरागी शिक्षक विद्यार्थीहरुले सिर्जना वाचन गरेका थिए ।

कार्यक्रममा साहित्यकार भवनाथ सडौलाले नेपाली भाषाका केहि आयामहरु शीर्षकको कार्यपत्र र डि.आर. पोखरेलले साहित्य कसरी सिर्जना गर्न सकिन्छ भन्ने शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सोमेश्वर मा.वि.कै विद्यार्थीहरुले प्रकाशन गरेको चिचिलो नामको भित्तेपत्रिका विमोचन समेत भएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं स्वर्ण महोत्सव मूल आयोजक समितिका संयोजक सु. लेखबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई भरतपुरका प्रमुख बिष्णु प्रसाद भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।

यसैबिच, स्वर्ण महोत्सवकै अवसर पारी माडी नगरपालिका वडा नं. १ र २ का विभिन्न टोलमा सामुहिक सरसफाई समेत गरिएको छ । स्थानीय टोल विकास संस्थाहरुको अगुवाई एवं टोल सदस्यहरुको सहभागितामा केहि टोलहरुमा सरसफाई गरिएको हो ।