कामचलाउ बनिसकेको सरकारले तोकेको प्रदेश प्रमुखबाट सपथ नलिने वाम गठबन्धनको घोषणाका बिच देउवा सरकारले प्रदेश प्रमुखको जिम्मेवारी तोकेको छ ।
सोमवार बसेको मन्त्री परिषद् बैठकले निजामती प्रशासनका वरिष्ठ अधिकारीहरुलाई प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो । मन्त्री परिषद् बैठकले सिफरिस गरेकाहरुमा प्रदेश नम्बर १ मा पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहलाई तोकिएको छ भने प्रदेश २ मा वरिष्ठ सहसचिव यादवप्रसाद कोइरालालाई कायममुकायम सचिवको जिम्मेवारी दिंदै प्रदेश प्रमुख बनाइएको छ ।
त्यस्तै प्रदेश ३ मा मध्यमाञ्चल क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेलाई तोकिएको छ भने प्रदेश ४ मा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मण अर्याललाई जिम्मेवार दिइएको छ । प्रदेश ५ मा बैकुण्ठ अर्याललाई जिम्मेवारी दिंदै कायममुकायम सचिवमा बढुवा समेत गरिएको छ । प्रदेश ६ मा सुरेश प्रधान प्रदेश प्रमुख भएका छन् भने प्रदेश ७ मा लक्ष्मीराज पौडेललाई प्रमुख बनाइएको छ ।
संबिधान अनुसार निर्वाचित जनप्रतिनिधीहरुले प्रदेश प्रमुखसँग सपथ ग्रहण गर्नु पर्ने प्रावधान रहेको छ । तर निर्वाचनमा बहुमत हासिल गरी नयाँ सरकार बनाउने तयारी गरेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा सम्मिलित बाम गठबन्धनले भने निर्वाचनपश्चात कामचलाउ हैसियतमा पुगिसकेको देउवा नेतृत्वको सरकारले दीर्घकालीन महत्वको नियुक्ती, सरुवा र बढुवा गरिरहेकोमा बिरोध गर्दै देउवा सरकारले तोकेको प्रदेश प्रमुखबाट सपथ नलिने घोषणा गरेका छन् । यस्तो सन्दर्भमा वाम गठबन्धनबाट निर्वाचित लगायत अन्य जनप्रतिनिधीहरुले केकसरी सपथ ग्रहण गर्नेछन्, त्यो भने हेर्न बाँकी छ ।