

माडी, चितवन । रक्तक्यान्सर पीडित भुपराज पाठकको उपचार सहयोगार्थ नेपाल पत्रकार महासंघ चितवन शाखाले आर्थिक सहयोग गरेको छ । पत्रकार महासंघ चितवनका पूर्व कार्यसमिति सदस्य समेत रहनुभएका पाठकको घरमै पुगी उहाँको परिवारलाई भेट गरी शाखाले ७५ हजार रुपैंया सहयोग गरेको हो ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुली सहितको टोलीले माडी नगरपालिका–४, सिम्रहनीस्थित पाठकको निवासमा पुगी परिवारलाई भेट गरेको हो । हाल पाठकको सघन उपचार कक्षमा उपचार चलिरहेको छ र उहाँको अवस्था स्थिर रहेको छ ।

त्यस्तै, महासंघले क्यान्सर पिडित भरतपुर महानगर निवासी महासंघ सदस्य संगीता बानियालाई समेत सहयोग रकम हस्तान्तरण गरेको अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । महासंघको नयाँ कार्यसमिति निर्वाचित भई कार्यभार सम्हालेलगत्तै क्यान्सर पिडित पत्रकारद्वयको उपचारका लागि सहयोग रकम संकलन अभियान सञ्चालन गरेको थियो ।
