माडी, चितवन । संघीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सोमेश्वर माध्यमिक विद्यालय बरुवाको ऐतिहासिक स्वर्ण महोत्सवको औपचारिक समुद्घाटन गर्नुभएको छ । विद्यालयको प्राङ्गणमा एक भव्य कार्यक्रमबिच मन्त्री भट्टराईले पानसमा बत्ती बालेर महोत्सवको समुद्घाटन गर्नुभएको हो ।
त्यसक्रममा सम्बोधन गर्दै उहाँले आउँदो संसदबाट शिक्षा ऐन पारित गर्ने योजना रहेको बताउनुभयो । हाल यसका लागि बिषयगत समितिमा छलफल भइरहेको र सो ऐनबाट शिक्षक, विद्यार्थी र अभिभावकहरुको माग पुरा हुने उहाँको भनाई थियो । सरकारले लागु गरेको अनिवार्य र निशुल्क शिक्षा कार्यान्वयन गर्न पालिकाहरुले महत्वपूर्ण भुमिका रहेको बताउँदै उहाँले यसका लागि पालिकाहरुले विशेष कोषको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा विद्यार्थी र शिक्षकहरुले पढ्दै कमाउँदै सिक्दै कार्यक्रम अन्तरगत विभिन्न परिकारहरु तयार गरेका थिए भने बिज्ञान तथा अन्य विषयगत प्रदर्शनी समेत गरेका थिए । महोत्सव कार्यक्रममा माडीका टोल र महिला समूहहरुको उत्साहप्रद सहभागिता देखिएको छ ।
विद्यालयको मुख्य सेवा क्षेत्र रहेको माडी नगरपालिका वडा नं. १ र २ का विभिन्न गाउँ टोलबाट आफ्नो परिचय झल्कने पोशाक र व्यानर सहित सहभागी रहेका स्थानीयले आफ्नो परम्परा, संस्कृति र पहिरनसहित पञ्चेबाजा, भजनकीर्तन, थारु लाठी नाँच, झम्टा नाँच आदि प्रदर्शन गर्दै स्वर्ण महोत्सवमा सहभागिता जनाएका हुन् । त्यसक्रममा उनीहरुले कार्यक्रमका प्रमुख अतिथि रहनुभएका संघीय शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराई एवं अन्य अतिथिहरूलाई समेत भव्य स्वागत गरेका थिए ।
स्वर्ण महोत्सवका अवसरमा सो विद्यालयको स्काउट ट्रुप्सले कवाज प्रदर्शन एवं झण्डोत्तोलन गरेको छ । स्काउट ट्रुप्सले कवाज प्रदर्शन गर्दै कार्यक्रमका प्रमुख अतिथि संघीय शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री विद्या भट्टराई र विशिष्ट अतिथि प्रदेशसभा सदस्य ठाकुर ढकाल एवं माडी नगरप्रमुख ताराकाजी महतो तथा अन्य अतिथिहरुलाई सलामी गरेका थिए । साथै उनीहरुले स्काउट विद्यालय र स्वर्ण महोत्सवको झण्डोत्तोलन समेत गरेका थिए । महोत्सवको समुद्घाटन समारोहमा दिनभरीनै खटिएका स्काउटमा आवद्ध विद्यार्थीहरुले कार्यक्रमका अतिथि एवं सहभागीहरुलाई स्काउटको बाजा (ड्रम)सहित स्वागत समेत गरेका थिए ।
स्वर्ण महोत्सवको मूल समारोह भने आउँदो माघ ३ गते सञ्चालन हुनेछ । सो कार्यक्रममा नेपाल सरकारका पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । स्वर्ण महोत्सवको अफिसियल मिडिया स्वदेश एफ.एम. रहेको छ ।