माडी (स्थानीय) खबर पोष्ट

आइफोन र पैसा सहितको झोला भेटेका माडीका सुवेदी र पोख्रेलले सम्बन्धित झोलाधनीलाई फिर्ता

माडी, चितवन । आइफोन र एन्ड्रोइड मोबाइल, केहि नगद, सवारी लाइसेन्स र नागरिकता प्रमाणपत्र सहितको झोला भेटेका माडीका युवा बिष्णु सुवेदी र देवी पोख्रेलले सम्बन्धित झोलाधनी रेखा गुरुङलाई सकुशल फिर्ता गर्नुभएको छ ।

सोमबार साँझपख नयाँपिपरिया हाइट (माडी क्याम्पस अगाडिको उकालो बाटो)मा भुइँमा खसेको अवस्थामा भेटेको पर्स बोकेर सुवेदी र पोख्रेल स्वदेश एफ.एम.को कार्यालयमा आउनुभयो ।

‘सामान हराएका मानिस पीरमा होलान्’ भन्ने पीर मान्दै स्वदेशमा आउनुभएका उहाँद्वयले उपलब्ध गराउनुभएको झोलामा रहेको मोबाइलको वालपेपर र नागरिकता प्रमाणपत्र समेतबाट झोलाधनी पहिचान गरी स्वदेशकर्मीहरुले सन्देश सम्प्रेषण गरे ।

त्यसपश्चात झोलाधनी, माडी-५, ब्रह्मपुरी निवासी (हाल बसन्तपुरमा बि लेडी बोस ब्युटी पार्लरका सञ्चालक) गुरुङ स्वदेश एफ.एम.को कार्यालय, पुरानो बजार, बसन्तपुरमा आउनुभई सामान बुझ्‌नुभयो । उहाँले झोला फिर्ता गर्नुभएका सुवेदी र पोख्रेललाई धेरै धन्यवाद समेत व्यक्त गर्नुभयो ।

माडी–६ निवासी सुवेदी कृषक उपकार बचत तथा ऋण सहकारी संस्थामा काम गर्नुहुन्छ भने पोख्रेल गृहिणी हुनुहुन्छ । भेटेको मोबाइल, पैसा र कागजातहरु फिर्ता गरेर सुवेदी र पोखरेलले उच्च नैतिकता र ईमान्दारिको नमूना प्रस्तुत गर्नुभएको र यसबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने स्वदेश एफ.एम.का अध्यक्ष देवनारायण शाहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार