

माडी, चितवन । नेकपा (माओवादी केन्द्र) सम्बद्ध युवा विद्यार्थीहरुले सहयोग संकलन गरी माडीका सबैजसो वडा (हनुमानझुला समेत) मा १८१ थान न्यानो कम्बल (बल्याङ्केट) वितरण गरेका छन् ।

माडी नगर क्षेत्रका बिपन्न एवं सुकुम्बासी परिवारहरु पहिचान गरी सो संख्यामा न्यानो बल्याङ्केट वितरण गरिएको माओवादी केन्द्रका युवा नेता सन्तोष पनेरुले बताउनुभयो । यस क्रममा सोमबार (आज) हनुमानझुलामा ४० वटा बल्याङ्केट वितरण गरेको र अभियान जारी नै रहेको उहाँले जनाउनुभयो ।

यस अभियानमा युवा नेता पनेरु सहित युवा र विद्यार्थी अगुवाहरु रामबन्धु पोखरेल, सन्तोष चापागाईं, पदम विलाश पन्त, रवि भुर्तेल, हरिकृष्ण लामिछाने, होमनाथ भट्टराई, ललित राउत लगायतको सहभागिता रहेको छ ।

युवा र विद्यार्थीहरुसंगै पार्टीका नेताहरु ठाकुर प्रसाद ढकाल, ऋषिराम काफ्ले, नेत्रनाथ आले र प्रभुप्रसाद महतो लगायत पनि बिपन्न एवं सुकुम्बासी परिवारहरुलाई न्यानो कम्बल हस्तान्तरणमा जोडिएको देख्न सकिन्छ ।