

माडी, चितवन । गैंडाको आक्रमणमा परी माडीको धोबाहा गाउँमा मृत्यु भएका, माडी–३, बैराठ गाउँनिवासी छबिलाल बोटको शव पोष्टमार्टमका लागि उठाइएको छ । भरतपुर अस्पतालमा शवको पोष्टमार्टम हुनेछ ।

बोटको शरीरका विभिन्न भागमा गहिरो घाउ रहेको छ । उहाँको पेट, छाती र तिघ्रामा गैंडाको सिङ गडेको घाउ देखिन्छ भने छातीको एकभागका करङका सबै हाडहरु (गैंडाले टेक्दा) दबेको देखिएको छ । टाउकोमा समेत चोट लागेको देखिएको घटनास्थलको प्रहरी मुचुल्कामा उल्लेख छ ।

भैंसी चराउन माडी–३, धोबाहा गाउँछेउ पूर्जा भएको जमीनमै रहेको काँसघारीमा पुगेका माडी–३, बैराठ गाउँस्थित किसानहरुको समूहमाथि बच्चा सहितको गैंडाले आक्रमण गरेको थियो । घटनामा घाइते हुनुभएका कृष्ण महतोलाई थप उपचारका लागि भरतपुर पठाइएको छ । उहाँको खुट्टामा चोट लागेको छ । अन्य दुई घाइते राजु बोट र हेमराज महतो भने सामान्य अवस्थामा रहनुभएको छ ।
