

माडी, चितवन । माडीका रक्तक्यान्सर पीडित कलाकार एवं शिक्षक भुपराव पाठकको हाल भरतपुरस्थित बि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

करीब एक महिनासम्म भारतको नयाँदिल्लीस्थित राजीव गान्धी हस्पिटलमा उपचार भएकोमा स्वास्थ्य अवस्था जटिल र स्थिर बनेसंगै नेपाल ल्याइएकोमा पछिल्लो एक साता (गत पौष २५ गते)देखि भरतपुरमा उपचार भइरहेको हो । उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा सरिक पाठक परिवारले बताएको छ ।

पाठकमा रक्तक्यान्सरसंगै क्षयरोग, मष्तिष्कमा खराबी, इन्टरनल ब्लिडिङ आदि समस्या रहेको छ । हाल पाठक परिवारका सबैजसो सदस्यहरु अस्पतालमै रही उपचारमा सहजिकरण गरिरहेको भुपराज पाठक उपचार सहयोग समितिका उपाध्यक्ष हरि न्यौपानेले बताउनुभयो ।

यसैबिच, पाठकको उपचार निरन्तरताको सहयोगार्थ चितवन जिल्लामा रहेका कौडिण्य गोत्रीय पाठक परिवारका तर्फबाट २ लाख ३९ हजार रुपैंया सहयोग भएको छ । कौडिण्य गोत्रीय पाठक समाज चितवनका अध्यक्ष लगायत प्रतिनिधिहरु अस्पतालमै पुगी सो सहयोग रकम प्रदान गर्नुभएको हो ।