माडी (स्थानीय) खबर पोष्ट

जन्मदिनको नाममा हुने आर्थिक भार रोक्दै टोल विकासका लागि शिक्षक पन्तको सहयोग

माडी, चितवन । जन्मदिनमा केक काट्ने तथा जमघट वा भोज लगाउने खर्च जोगाउँदै माडीका चर्चित शिक्षक एवं टोल विकास तथा सरसफाई अभियन्ता सोमा पन्तले टोल विकासका निम्ति आर्थिक सहयोग गर्नुभएको छ ।

माडी-८, अयोध्यामार्ग, दक्षिण अयोध्यापुरी निवासी शिक्षक पन्तले आफ्‌ना दिवंगत सासुआमा धनकुमारी पन्त र ससुराबुबा अम्बिकाप्रसाद पन्तको स्मृति समेतको अवसर पारी २६ हजार ६ सय ३६ रुपैंया सहयोग गर्नुभयो । पन्तले स्थानीय फूलबारी आमा समूहका अध्यक्ष सुजिता पाण्डेलाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।

शिक्षक पन्त समेतको अगुवाईका कारण दक्षिण अयोध्यापुरी टोल सरसफाई र सडक साजसज्जाको क्षेत्रमा माडी क्षेत्रकै नमुना बनेको छ । टोलमा रंगिन ढुङ्गा र बाँसको डोकोबाट बनेका फोहोरदानी राखिएका छन् भने टोल विकासका लागि सहयोग अभियान निरन्तर चलिरहेको छ ।

यसैबिच, शिक्षक पन्तले जन्मदिनकै अवसरमा आफू कार्यरत दक्षिण अयोध्यापुरी आधारभूत विद्यालयको विपन्न विद्यार्थी सहयोग कोषमा १ हजार १ सय ५५ रुपैंया सहयोग गर्नुभएको छ । ‘जन्मदिनको नाममा हुने आर्थिक भार रोक्दै विद्यार्थी, विद्यालय र समुदायको सहयोगार्थ केहि योगदान गर्दा झनै खुसी मिलेको’ बताउँदै उहाँले ‘अरु सबैलाई यस्तै सामाजिक भूमिकासहित व्यक्तिगत उत्सवहरु मनाउन’ अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार