

माडी, चितवन । माडी क्षेत्रमा छायाँकन भएर पनि स्थानीय सिनेमा घरको अभावमा माडीमा प्रदर्शन हुन नसकेको नेपाली कथानक चलचित्र ‘फिरफिरे फिरिरी’ आउँदो माघ १८ र १९ गते माडीमा विशेष प्रदर्शन हुने भएको छ ।

देशैभर प्रदर्शन हुँदा फरक धारको फिल्मका रुपमा चर्चा कमाएको सो चलचित्र आउँदो माघ १८ गते शुक्रबार दिउँसो ४:३० बजे र शनिवार दिउँसो १:३० बजे तथा साँझ ५ बजेदेखि होटल प्याराडाइजको सभाहलमा विशेष प्रदर्शन हुने भएको हो ।

माडीका कलाकरहरुको समेत भूमिका (अभिनय) रहेको चलचित्र फिरफिरे फिरिरीको प्रदर्शनको व्यवस्थापन माडी रंगमञ्चले गरेको हो । रंगमञ्चका कलाकारहरुको सहयोगार्थ सो ३ वटा विशेष च्यारिटी सोको व्यवस्था गरिएको र टिकट शुल्क दुई सय रुपैंया राखिएको माडी रंगमञ्चका कलाकार एवं नाटक निर्देशक सुमन तिमिल्सिनाले बताउनुभयो ।

एकवटा आइटम गीत बाहेक अन्य सबै दृश्यहरु माडी उपत्यकाभित्रै छायाँकन भएकाले ‘पपुलर कल्चर’मार्फत माडीको सुन्दरतालाई बाहिर ल्याउन महत्वपूर्ण भूमिका निभाएको सो फिल्मले दर्शकलाई मज्जाले हँसाउनुका साथै रोमाञ्चक अनुभूति दिलाएको चलचित्रका दर्शकहरुको प्रतिक्रिया छ ।