देश-प्रदेश खबर पोष्ट

चुनाव जितेपनि सांसद बन्न रेशम चौधरीले अदालती अवरोध पार गर्नुपर्ने बाध्यता

टिकापुर घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खोजी गरिरहेका रेशम चौधरीलाई सांसद बन्न अदालती अवरोध पार गर्नुपर्ने भएको छ ।

कैलाली क्षेत्र नम्बर १ बाट पराकिलो मतान्तरसहित प्रतिनिधीसभाको चुनाव जितेका चौधरीले वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । तर सर्वोच्च प्रशासनले खारेज गरिदिएको चौधरीको निवेदन आइतबार अदालतले नै दरपीठ गरिदिएपछि चौधरीले वारेसमार्फत प्रमाणपत्र नपाउने भएका हुन् ।

सर्वोच्च अदालतका न्यायाधीश टंकप्रसाद मोक्तानको एकल इजलासले सर्वोच्च प्रशासनको निर्णयलाई सदर गरेपछि चौधरीलाई प्रमाणपत्र लिन आफै उपस्थित हुनुपर्ने कानुनी बाध्यता परेको छ । अदालतले वारेन्ट जारी भएको समयमा पक्राउ नपरेका रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेर अदालतमा उपस्थित गराउनुपर्नेमा अभियुक्तले नै वारेसमार्फत प्रमाणपत्र पाउनुपर्ने माग वारेन्ट र म्यादी पुर्जीको अवज्ञा भएको ठहर पनि गरेको छ । आफूमाथि लागेको आरोप झुठा लागेमा चौधरीले अदालतमा उपस्थित भई प्रमाणित गराएर सफाई लिनका लागि अदालती बाटो अपनाउनुपर्ने अदालतको आदेशमा उल्लेख छ ।

थारु नेता चौधरीले वारेसमार्फत उम्मेदवारी दिएर परिवारजन तथा पार्टी कार्यकर्ताहरुमार्फत चुनावी प्रतिस्पर्धा गरेका थिए । चुनाव प्रचारप्रसार कार्यमा समेत उनी प्रत्यक्ष सहभागी नभई सामाजिक सञ्जाल र भिडियो सन्देशहरुमार्फत मतदाताहरुबिच पुगेका थिए । चुनाव जितेपछि पनि वारेशमार्फत प्रतिनिधीसभा सदस्यको प्रमाणपत्र पाउनुपर्ने उनको माग रहेको छ ।

२०७३ भदौ ७ गते कैलालीको टिकापुरमा तात्कालीन थरुहट आन्दोलनमा सहभागी थारु समुदाय र प्रहरीबीचको झडपमा प्रहरीका एसएसपीसहित ७ जना सुरक्षाकर्मी र एक जना बालकको ज्यान गएको थियो । ज्यान गुमाउनेमा सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकहरु बलराम विष्ट र केशव बोहोरा, प्रहरी हवल्दार लक्ष्मण खड्का र जवान लोकेन्द्र चन्द सशस्त्रका दुई हवल्दार रामविहारी थारु र ललित साउद रहेका थिए भने घरमै बसिरहेका साउदका २ वर्षे छोराको पनि ज्यान गएको थियो । घटनापश्चात साम्प्रदायिक दंगा भड्किन नदिन स्थानीय प्रशासनले निशेषाज्ञा जारी गरेपनि रेशम चौधरीको रिसोर्ट र उनले सञ्चालन गरेको फुलबारी एफ.एम. लगायत थारु समुदायका घरहरुमा आगजनी भएका थिए ।

तपाईको प्रतिक्रिया

ताजा समाचार