

माडी, चितवन । नेपालबाट चीनमा भैंसीको मासु निर्यात गर्ने दीर्घकालीन योजना अन्तरगत माडी नगरपालिकालाई मासु उत्पादनको विशेष क्षेत्र बनाउन सकिने एक अध्ययन टोलीले निष्कर्ष निकालेको छ ।

बागमती प्रदेश सरकारले गठन गरेको एक अध्ययन टोलीले प्रदेशभित्र सिन्धुली, मकवानपुर र चितवनका विभिन्न पालिकाहरुको स्थलगत अवलोकन गर्ने क्रममा माडी क्षेत्रलाई ‘खोरेत रोगमुक्त क्षेत्र’ बनाउन सकिने निर्क्यौल गरेको हो ।

चारैतिर वनक्षेत्रले घेरिएको र नाकामा सुरक्षा निकायहरूको व्यवस्थित चेकपोष्ट रहेकाले यस क्षेत्रलाई खोरेत रोग मुक्त क्षेत्र बनाई स्वस्थ पशुपालनमार्फत भैंसीको मासु निर्यातको हब बनाउन सकिने निष्कर्ष निकालिएको अध्ययन टोलीका एक सदस्य रहनुभएका कृषि मन्त्रालयका पूर्व सहसचिव डा. रेवतीमन श्रेष्ठले बताउनुभयो ।

अध्ययन टोलीले माडीका नगरप्रमुख ताराकुमारी काजी महतोसहित केहि वडाध्यक्ष र पशुपालक कृषकहरुसंग यसबारे छलफल गर्नुका साथै व्यवसायिक रुपमा पशुपालन गरिरहेका कृषकहरुको गोठको स्थलगत अवलोकन समेत गरेको थियो । कार्यक्रममा सहभागी हुन यहाँका कृषकहरु इच्छुक देखिएको र सहयोगका लागि माडी नगरपालिका पनि तयार रहेको टोली सदस्य डा. श्रेष्ठले बताउनुभयो ।