

माडी, चितवन । गैंडाको आक्रमणमा परी स्थानीय कृषक महिलाको दुःखद् मृत्यु भएसंगै माडी-१, ध्रुब गाउँटोलवासी एवं मृतकका परिवार शोकमा परका छन् ।

शुक्रबार माडी नगरपालिका-१ ध्रुब ६० वर्षीय भुतही महतोलाई सोही वडाको अमलिया क्षेत्रमा घाँस काट्न जाने क्रममा गैंडाले आक्रमण गरेको थियो । महतोको शुक्रबार राती उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएकोमा शनिवार अन्त्येष्ठी भएको छ ।


यसैबिच, गैंडाको आक्रमणबाट तीन साताको अवधीमै माडीका ३ जनाको श्रृङ्खलाबद्ध मृत्यु भएसंगै माडीबासीमा एकैसाथ शोक र आक्रोश अभिव्यक्त भएको छ । गैंडाकै आक्रमणबाट गत माघ १ गते माडी-३ निवासी छबिलाल बोट र माघ ७ गते माडी-७ निवासी शिवराज भण्डारीको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।


विगतमा मानिसहरुको बाक्लो बस्ती रहेको अमिलिया र धोबाहास्थित घाँसेमैदान क्षेत्रमा कृषि कार्यकै क्रममा महतो र बोटको मृत्यु भएको हो भने भण्डारीलाई निकुञ्जभित्र मोटरसाइकल यात्राका क्रममा गैंडाले आक्रमण गरेको थियो । गैंडाको आक्रमणमा मानवीय हताहतीको एकपछि अर्को घटना भएसंगै बस्तीछेउ निक्लने गैंडा नियन्त्रणको आवाज उठ्न सुरु भएको छ ।