

माडी, चितवन । नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले माडीको बसन्तपुरमा आयोजित आठौं वातासिनो माडी क्रिकेट कप राष्ट्रियस्तरको (खुल्ला) क्रिकेट प्रतियोगिता-२०८१ को समुद्घाटन गर्नुहुने भएको छ ।

आउँदो माघ २६ गते शनिवार दिउँसो सञ्चालन हुन लागेको भव्य समुद्घाटन समारोहमा देशकै प्रतिष्ठित एवं चर्चित खेलाडी समेत रहनुभएका खड्काको प्रमुख आतिथ्य रहने निश्चित भएको हो । उहाँलाई माडीका स्काउट ट्रुप, युवा समूह, महिला तथा विद्यार्थी समूह र क्रिकेटप्रेमी दर्शकहरुले भव्य स्वागत गर्ने कार्यक्रम रहेको प्रतियोगिताको आयोजक बसन्तपुर युथ क्लबका अध्यक्ष पदम विलाश पन्तले बताउनुभयो ।

माघ २६ गते सुरु हुने सो प्रतियोगिता फाल्गुन ३ गतेसम्म सञ्चालन हुनेछ । विजेताले २ लाख र उपविजेताले १ लाख रुपैंया पाउने भएका छन् भने प्रत्येक खेलका प्लेयर अफ द म्याच घोषित खेलाडीले ३ हजार रुपैंया नगद पाउनेछन् । त्यस्तै, प्रतियोगिताको उदीयमान घोषित खेलाडीले १० हजार, प्लेयर अफ द टुर्नामेन्टले ८ हजार र अनुशासित टीमले ५ हजार पाउनेछन् । यसबाहेक, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र बेस्ट फिल्डरले ४/४ हजार रुपैंया पाउनेछन् ।
