

माडी, चितवन । माडीमा रक्तसंचार केन्द्र स्थापना र सञ्चालनका लागि माडीका चारवटै रेडक्रस उपशाखा एवं अगुवा रेडक्रसकर्मीहरुले संयुक्त आह्वान गरेका छन् ।

माडीमा रहेका रेडक्रस उपशाखाहरूका पदाधिकारीहरूको संयुक्त बैठकले रक्तसञ्चार केन्द्रको व्यवस्थित सञ्चालनका लागि स्थानीय तथा प्रदेश सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो । पालिकास्तरीय आँकडामा चितवनै सर्बाधिक रक्तदान कार्यक्रम हुनेगरेको माडी नगरमै व्यवस्थित रक्तसञ्चार केन्द्र स्थापना गर्ने छलफल बर्षौदेखि चल्दै आएपनि काम सुरु हुन सकेको छैन ।

यसबाहेक बैठकले रेडक्रस चितवन जिल्ला शाखा र माडी नगरपालिकाबिच सम्झौता भई सञ्चालनमा रहेको आत्महत्या रोकथामका लागि मनोसामाजिक सहयोग परियोजनालाई आगामी बर्षका लागि निरन्तरताका दिन जिल्ला शाखा र माडी नगरपालिका संग अनुरोध गर्ने पनि निर्णय गरेको छ ।

यसैगरी बैठकले रेडक्रस उपशाखाहरूले सञ्चालन गरिआएका एम्बुलेन्स सेवा सम्बन्धमा स्थानीय सरकारसंग छलफल गर्ने, रेडक्रस सम्बन्धि परिचयात्मक कार्यक्रम सञ्चालन गर्ने, माडीका रेडक्रस उपशाखाहरूलाई प्रभावकारी बनाउन जनप्रतिनिधि र सरोकारवालाहरूसंग अन्तरक्रिया गर्ने लगायतका निर्णय गरेको रेडक्रस बघौंडा उपशाखाका सभापति रामबन्धु पोखरेलले जनाउनुभयो ।