बबई नदीको भाले घडियाल गोहीले राप्ती तथा नारायणी नदीमा प्रजनन कार्य गर्ने

640
SwadeshPost

भाले घडियाल गोही विहीन राप्ती तथा नारायणी नदीमा बबई नदीबाट भाले घडियाल गोही ल्याई छोडिएको छ ।

उक्त भाले गोही नारायणी नदी र राप्ती नदीको दोभानभन्दा केही तल खोरिया मुहान क्षेत्रमा छाडिएको हो । गत वर्षदेखि भाले घडियाल विहीन हुन पुगेका राप्ती तथा नारायणी नदीमा भाले गोही आएपछि त्यहाँको आनुवंशिक विविधतामा सुधार आउने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कंडेलले बताए ।

राप्ती तथा नारायणी नदीमा भएको एउटा भाले गोही मरेकोले यतिखेर प्रजनन गर्ने समय भएकोले बबईबाट ल्याएर छाडेको वार्डेन कँडेलको भनाई थियो । घडियालको बासस्थान वरपर मानव चाप बढ्दै जानु, नदी प्रदूषित हुँदै जानु र नदीमा अनधिकृत रुपमा माछा मार्न महाजालको प्रयोग गरिनु तथा नेपाल–भारत सिमानामा पर्ने नदीमा बनाइएका बाँधका कारण गोही संकटमा पर्दै गएको संरक्षणकर्मीहरु बताउँछन् । नेपालका नारायणी, राप्ती, बबई र कर्णाली नदीमा मात्र पाइने घडीयालको संख्या १ सय ९८ वटा रहेको छ ।

SwadeshPost