चितवन खबर पोष्ट

मौलाकालिका अस्पताल आफ्नै नयाँ भवनमा, सम्पूर्ण सेवामा ५० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट

माडी, चितवन । भरतपुरको चौबीसकोठीमा रहेको मौलाकालिका अस्पताल श्रीपञ्चमी पर्वको अवसर पारी माघ २१ गतेबाट आफ्नै नयाँ भवनमा सरेको छ । यसअघि भाडामा भवन लिएर सञ्चालन हुँदै आएको मौलाकालिका अस्पताल स्थापना भएको १८ वर्षपछि आफ्नै भवनमा सरेको हो ।

नयाँ भवनबाट सेवा शुभारम्भ गरेको अवसरमा अस्पतालले माघ महिनाभरका लागि ओपिडि निःशुल्क र अस्पताल सेवामा ५० प्रतिशत छुट दिएको छ । यस अवधिमा अस्पतालका सम्पूर्ण सेवामा ५० प्रतिशत र औषधिमा सात प्रतिशत छुट समेत रहेको अस्पतालका प्रमुख एवं बरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. केशव भुर्तेलले जनाउनुभयो । सरकारको स्वास्थ्य बिमा कार्यक्रममा जोडिने पहल भइरहेको उहाँले बताउनुभयो ।

बि.सं. २०६३ सालमा अस्पतालरोडमा स्थापना भएको मौलाकालिका अस्पताल ०६७ सालदेखि चौबीसकोठी चोकनजिक सञ्चालनमा रहेको थियो । हाल सो अस्पतालले भरतपुर ११, वाईपास रोडस्थित मालपोतचोक नजिक १० कठ्ठा जमिन खरिद गरी सात तले सुविधासम्पन्न आधुनिक भवन निर्माण गरेको हो ।

अस्पतालले जलन (बर्नवार्ड), प्लास्टिक सर्जरी, अंको सर्जरी (स्तन क्यान्सर), युरोलोजी, कार्डियोलोजी, स्पाईनल सर्जरी, न्यूरो सर्जरी, बाल मनोचिकित्सक सेवा सञ्चालन गर्दै आएको छ । २४ घण्टा इमर्जेन्सी र एम्बुलेन्स सेवा रहेको अस्पतालमा सामाजिक सुरक्षा कोषबाट उपचार गर्ने व्यवस्था रहेको अस्पतालका अध्यक्ष डा. माणिकलाल मानन्धरले बताउनुभयो । अस्पतालमा दुरविन प्रविधिबाट मुत्रासय पत्थरी र पित्तथैलीको चिरफार विना शल्यक्रिया हुने पनि उहाँले जानकारी दिनुभयो ।

यसैगरी इन्टरभेन्सन पेन स्पेशलिष्ट (दुखाई विशेषज्ञ), स्त्री-प्रसुती तथा प्रजनन् रोग, एनेस्थेसिया, जनरल सर्जरी, रेडियोलोजी, जनरल मेडिसिन, हार्डजोर्नी तथा नसा रोग, नवजात शिशु तथा बालरोग, मनोरोग, दन्तरोग, यौन तथा छाला रोग सेवा दिंदै आएको छ । यस्तै फिजियोथेरापी, प्याथोलोजी (माईक्रोबायोलोजी–हेमाटोलोजी) सेवा पनि दिंदै आएको छ ।

आठ शैयाको एनआईसियू, पाँच शैयाको पिआईसियू, १० शैयाको एचडियु र सात शैयाको आईसियु सेवा रहेको अस्पतालमा तीन वटा मोडुलर ओटी (आधुनिक शल्यक्रियाकक्ष) रहेका छन् । अस्पतालमा प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान, इण्डोस्कोपी, क्लोनोस्कोपी, ईको (फिटल), ईसिजी, ईईजी लगायतका सेवा समेत उपलब्ध रहेका छन् । आफ्नै फार्मेसी रहेको अस्पतालमा चौबिसै घण्टा चिकित्सक उपलब्ध हुने गरेको अध्यक्ष डा. मानन्धरको भनाई छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार