

माडी, चितवन । देशव्यापि अभियान अन्तरगत माडीसंगै चितवन जिल्लाभरीका सामुदायिक एवं संस्थागत विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्यययनरत किशोरी छात्राहरुलाई एच.पि.भी. खोप लगाउन सुरु गरिएको छ ।

विश्व क्यान्सर दिवसको अवसरमा माडी माध्यमिक विद्यालय, बसन्तपुरमा एक संक्षिप्त कार्यक्रमबिच बागमती प्रदेशसभा सदस्य ठाकुर प्रसाद ढकालले खोप सजकर्तालाई भ्याक्सिन बक्स हस्तान्तरण गरी जिल्लाव्यापि खोप अभियानको सुरुवात गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले पाठेघरको मुखको क्यान्सर रोगबाट बचाउन महत्वपूर्ण रहेको खोप अभियान सफल बनाउन सबैमा आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति चितवनका उपाध्यक्ष कल्पना काफ्ले सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती लगायत माडीका वडाध्यक्ष, स्वास्थ्यकर्मी र अन्य सरोकारवालाको सहभागिता रहेको थियो । माडीमा आउँदो माघ २४ गतेसम्म र भरतपुरमा फाल्गुन २ गतेसम्मै सो खोप अभियान जारी रहने रुपाखेतीले जानकारी दिनुभयो ।

नेपालमा महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर महिलाहरूको मृत्युको पहिलो कारण हो । प्रत्येक दिन करिब ४ जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुनेगरेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सुचना तथा सञ्चार केन्द्रले जनाएको छ । आगामी वर्षदेखि कक्षा ६ मा अध्ययन गर्ने छात्रालाई फागुन महिनामा नियमित खोप दिइने व्यवस्था गरिएको छ ।