‘ठोरी-केरुङ्ग लोकमार्ग : नेपालको लाईफ लाईन’ प्रचण्ड (भिडियो सहित)

1K
SwadeshPost

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले ठोरी-केरुङ्ग लोकमार्ग नेपालको लाईफ लाईनको रुपमा निर्माण हुने बताएका छन् ।

सोमबार प्रदेश नं २ अन्तर्गत पर्साको ठोरी गाँउपालिकाको छोटी नाका अवलोकन गर्न पुगेका प्रचण्डले अब यो लोकमार्ग भारत र चीनलाई छोटो (१८८ कि.मी.) दुरीबाट जोड्ने त्रिदेशीय मार्गको रुपमा निर्माण हुने बताएका हुन । केरुङ्गलाई चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको र रसुवाबाट ठोरी सम्मका लागि सडक निर्माण कार्य अगाडी बढिसकेकाले अबको सरकारले ठोरीलाई नाकाको रुपमा बिस्तार गर्न अगाडी बढ्ने र यसका लागि भारतसंग पहल गर्ने उनको भनाई थियो ।

ठोरी माडी केरुङ सडक बनाउन चीन र भारत दुवैले महत्वका साथ चासो देखाएकाले अब छिट्टै बाँकी काम निर्माण हुने प्रचण्डले बताए । केहि दिन अगाडी के. पी. ओलीजी रसुवा जानुभयो, आज म यहाँ आएको छु । अब यो सडक निर्माणले तिब्रता पाउछ, उनले भने । त्यसैगरी ठोरी गाँउपालिकालाई प्रदेश नं ३ मा समायोजन गर्ने राजनैतिक निर्णय संबिधान जारी हुनु अगाडिनै भएकाले जनताको चाहना र राष्ट्रिय आवश्यता अनुसार प्रदेश नं ३ मा ठोरी गाँउपालिकालाई समायोजन गरेरै छाड्ने प्रचण्डले प्रतिबद्धता व्यक्त गरेका छन् ।

संबिधान जारी हुनु अगाडि देखि नै ठोरीलाई प्रदेश नं. ३ मा समायोजन गराउन पटक पटक ठोरीवासी आन्दोलित भएका छन् भने ठोरी गाँउपालिकाको पहिलो बैठकले ठोरीलाई प्रदेश नं ३ मा समायोजन गर्न केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ । चितवनको भरतपुरबाट ६५ कि.मी. दुरीमा रहेको ठोरी गाउँपालिका भारतसंग सिमाना जोडिएर धेरै पहिलादेखि नुन, तेल र अघोषित नाकाबन्दीको बेला ईन्धन आयात गर्ने मुख्य स्थान बनेको थियो । भारततर्फ ठोरीसम्म ५० बर्ष अघिदेखी रेल रेवा संचालन हुदै आईरहेका छ । ठोरीदेखि भतरपुर हुँदै काठमाडौं तथा ठोरीदेखि बिरगंज दैनिक दर्जन बढि सार्वाजनिक यातायात सञ्चालनमा छन् भने हुलाकी मार्ग समेत निर्माण जारी रहेको छ ।

यसैबिच, माओवादी अध्यक्ष प्रचण्डले निर्वाचनको परिणामबाट कमजोर बनेपछि काँग्रेसले एकल संक्रमणीय प्रणालीको बखेडा झिकेको आरोप लगाएका छन् । शोमबार नै माडीको बाँदरझुलामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले सबै दलहरु वहुमतीय निर्वाचन प्रणालीमा सहमत भैसकेकाले चुनावमा कमजोर परिणाम आयो भन्दैमा काँग्रेसले कुरा फेर्न नहुने बताएका छन् । स्थानीय तहको निर्वाचन पछि काँग्रसले राष्ट्रिय सभाको निर्वाचनमा वहुमतीय होइन एकल संक्रमणीय प्रणाली लागु गर्नुपर्छ भनेर अर्को संशोधनको कुरा उठाएको प्रचण्डको आरोप थियो । सडक मार्गबाट माडी हुँदै ठोरी पुगी बाँदरझुलाको कार्यक्रममा सहभागी भएका प्रचण्ड सो क्षेत्रका नवनिर्वाचित प्रतिनिधीसभा सदस्य पनि हुन् ।

(प्रेम लामा/सुदीप थापा, ठोरी)

हेर्नुहोस्, ठोरीमा प्रचण्डको सम्बोधन (भिडियो)

SwadeshPost