माडी, चितवन — माडी नगरपालिका-२, बैराठ गाउँ निवासी कालुराम मर्दनियामाथि गत असोज २२ गते राती प्रहरी समूहले घरमै र अस्पताल परिसरमा कुटपिट गरेको घटनामा संलग्न प्रहरीलाई कारवाही गर्ने प्रक्रिया अघि बढाइएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय भरतपुरमा माडी नगरपालिकाका मेयर, उपमेयर, थारु कल्याणकारिणी सभाका पदाधिकारी तथा स्थानीय अगुवाहरूबीच भएको छलफलमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले दोषी प्रहरीमाथि कारवाही प्रक्रिया सुरु भइसकेको र इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षकको सरुवा भइसकेको जानकारी दिनुभयो ।

थारु कल्याणकारिणी सभा क्षेत्र नं.१, माडीका सभापति शुक्रमिया चौधरीले घटनामा संलग्न प्रहरीमाथि कारवाही, पीडितको उपचार, माडीमा शान्ति-सुरक्षा कायम गर्ने र पीडितमाथि गरिएको जबर्जस्ती सहमति खारेज गर्न माग गर्नुभएको थियो ।

त्यस्तै, माडीका नगरप्रमुख ताराकाजी कुमारी महतो र उपमेयर खेमप्रसाद महतोले पनि तत्काल दोषी प्रहरीलाई कारवाही गर्न र माडीका जनतालाई आश्वस्त पार्ने माग गर्नुभयो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक गोविन्द पुरीले घटनाको जिम्मेवारी लिँदै संलग्न प्रहरीमाथि कारवाही अघि बढाइएको र घाइतेको उपचार भइरहेको बताउनुभएको थियो । बिहीबार पुनः पीडित पक्षसँग सहमति प्रक्रिया अघि बढाइने बताइएको छ ।
यसअघि, असोजको २२ गते रातको १० बजेको समयमा प्रहरीले नै मापसे गरी मर्दनीया र उहाँको परिवारमाथि जथाभावी गालीगलौज तथा कुटपिट गरेको थियो भने बघौंडा अस्पतालका डाक्टरलाई समेत जबर्जस्ती मापसे गरेको रिपोर्ट बनाउन लगाएको थियो । हातमा हतकडी लगाएर कुटपिट गरेको सिसिटिभि फुटेज सार्बजनिक भएसंगै माडी प्रहरीको हर्कतको चौतर्फी बिरोध भएको हो ।

