माडी, चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा गएराति करिब १ बजे दुई यात्रुवाहक बस र ट्रक एक आपसमा ठोक्किँदा ३३ जना यात्रु घाइते भएका छन् ।
प्रहरीका अनुसार रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ ख ०१२३ नम्बरको यात्रुबहाक बसले अगाडि चलेको ना–६ ख ८१३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। सो बसको पछाडि आइरहेको जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३९०२ नम्बरको अर्को यात्रुबहाक बस पनि सोही क्रममा ठोक्किएको थियो।

दुर्घटनामा दुवै बसका यात्रु गरी ३३ जना घाइते भएका छन्। तीमध्ये १५ जनाको उपचार चितवन मेडिकल कलेजमा, १३ जनाको नेशनल सिटी अस्पतालमा र ५ जनाको भरतपुर अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो।

एसपी पुरीका अनुसार घाइतेमध्ये ८ जनाको अवस्था मध्यम र बाँकी २५ जनाको अवस्था सामान्य छ। दुई बस चालक मध्ये एक जना घाइते भएका छन् भने अर्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ट्रक चालक भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

