१५ कार्तिक, माडी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको ‘श्रम संस्कृति पार्टी’को चितवन जिल्ला समिति सचिवमा माडीका युवा अगुवा माधव पुन चयन हुनुभएको छ । लामो व्यवसायिक र पछिल्लो समय माडी-७, दिवानगर क्षेत्रमा कृषि कर्ममा सरिक रहनुभएका पुन सचिव रहनेगरी शनिवार श्रम संस्कृति पार्टीको चितवन जिल्ला समिति गठन भएको हो ।

श्रम संस्कृति पार्टीको चितवन जिल्ला सदस्यमा माडीका अर्का युवा अगुवाद्वय पारस गुरुङ र प्रकाश रिजाल क्षेत्री रहनुभएको छ । माडी-६, रामराज्यपुर निवासी गुरुङ हालै राप्रपा परित्यागको घोषणा गर्नुभएको थियो । त्यस्तै, माडी-१,चैनपुर निवासी रिजाल शैक्षिक परामर्श व्यवसायमा सरिक हुनुहुन्छ ।

पार्टीको चितवन जिल्ला संयोजकमा चन्द्र बहादुर तामाङ, सहसंयोजकमा राजु खड्का, सहसचिवमा दिनेश तामाङ र कोषाध्यक्षमा मीना लोप्चन रहनुभएको छ । त्यस्तै, जिल्ला सदस्यहरुमा सन्त तामाङ, समीर तामाङ, सुर्य बहादुर घले, चिन बहादुर तामाङ, लाप्साङ लोप्चन, लेख बहादुर पुन, दिनेश तामाङ, राजकुमार तामाङ, बुद्धि बहादुर गुरुङ, बसन्त कुमार क्षेत्री रहनुभएको जिल्ला सचिव पुनले जानकारी दिनुभयो ।

यसैबिच, नवगठित श्रम संस्कृति पार्टीको चितवन जिल्ला समितिले शनिवार भरतपुरमा सरसफाई कार्यक्रम गरेको छ । बसपार्क क्षेत्र वरपरको फोहर संकलन, सरसफाइ र वातावरण सुन्दर बनाउन सहभागीहरूले संयुक्त प्रयास गरेको जिल्ला सचिव पुनले जनाउनुभयो । कार्यक्रमको उद्देश्य सार्वजनिक स्थल स्वच्छ राख्दै श्रमप्रतिको सम्मान र सामूहिक उत्तरदायित्वबोध जगाउने रहेको उहाँले बताउनुभयो ।

