१८ कार्तिक, माडी । नेकपा माओवादी केन्द्र सहित ९ दलको एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ रहने भएको छ।
प्रज्ञाभवन, कमलादीमा जारी माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठकमा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टीको नामबारे जानकारी गराउनुभएको हो । कार्यक्रममा बोल्दै ‘प्रचण्ड’ले नेता जनार्दन शर्मालाई भोलिसम्म पार्टीमा फर्किन आग्रह गर्नुभयो ।

बैठकमा पार्टीको महाधिवेशन आयोजक समितिको संयोजकको तर्फबाट नेता नारायणकाजी श्रेष्ठले पार्टी एकतासम्बन्धी एजेन्डा प्रस्तुत गर्नुभएकोमा सबैले ताली बजाएर पारित गरेका छन् ।

त्यस क्रममा बोल्दै नेता श्रेष्ठले पार्टी एकता केही मान्छे थुपार्ने प्रयोजनका लागि मात्र नभई जेन–जी पुस्तासहितको नयाँ नेतृत्वलाई पार्टी पुनर्निर्माण र समाजवादको यात्रामा सहभागी गराउने उद्देश्यले गरिएको बताउनुभयाे ।
नेकपा माओवादी केन्द्रले पारित गरेको एकता एजेन्डा र नौ दलबीचको सहमतिपछि भोलि भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गरी पार्टी एकता औपचारिक रूपमा घोषणा गरिने तयारी गरिएको छ। एकीकृत पार्टीको चुनाव चिन्ह पाँचकुने तारा रहने सहमति पहिले नै आठ दलबिच भइसकेको छ।

