२३ कार्तिक, माडी । जेनजी आन्दोलनका क्रममा देशैभर आगजनी र तोडफोड हुँदा माडी-९, हनुमानझुलाबासी युवाहरुले गरेको सिर्जनात्मक पहलबाट ९ किलोमिटर बाटो स्तरोन्नति भएको छ ।
आन्दोलनकै रापतापको अवस्थामा चितवन राष्ट्रिय निकुञ्जको बनकट्टा कसरा सडक खण्डमा जेनजी युवाहरुको अगुवाई र माडी नगरपालिकाको सहभागितामा सडक स्तरोन्नति सुरु हुँदैगर्दा उता, हनुमानझुलाबासी युवा र नागरिकहरुले सडक स्तरोन्नति सुरु गरेका थिए ।

त्यस क्रममा, ठोरी गाउँपालिका-१, चौतारादेखि हनुमानझुलाको अन्तिम बिन्दु प्लट नं. ५ : भालुखोला (अविश्मरणीय टोल)सम्म दुईतर्फी गाडी सहजै वारपार हुनेगरी फराकिलो बाटो निर्माण भएको देख्न सकिन्छ ।

त्यसअघि साँघुरो रहेको सो बाटोलाई माडी-९ वडा कार्यालयको सहयोगमा डोजर र अन्य निर्माण साधनहरुको प्रयोग एवं जनश्रमदान समेत गर्दै हनुमानझुलाबासीहरुले फराकिलो बनाएका हुन् । दुबै किनारको अवरोधहरु हटाई फराकिलो बनाइएको बाटोमा अब ग्राभेल हाल्न बाँकी रहेको छ ।

