चितवन खबर पोष्ट

लामो प्रतीक्षा पश्चात अन्ततः माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा पोष्टमार्टम सेवा सुरु

२३ कार्तिक, माडी । लामो समयको तयारी र प्रतीक्षा पश्चात अन्ततः माडीको बसन्तपुरस्थित बघौंडा अस्पतालमा पोष्टमार्टम सेवा सुरु भएको छ ।

‘अस्पतालमा कार्यरत ३ जना चिकित्सक र १ जना पोष्टमार्टम सहायता कार्यकर्मीले तालिम लिनुका साथै आवश्यक तयारी पुरा भएसंगै पोष्टमार्टम सेवा सुरु गर्ने निर्णय भएको’ माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।

यो सेवा सुरुवात गर्ने सम्बन्धमा आइतबार बिहान बसेको अस्पताल व्यवस्थापन समिति, चिकित्सक, प्रहरी र जनप्रतिनिधिहरुको संयुक्त बैठकले ‘पोष्टमार्टमका लागि तयारी रहेको प्रहरीलाई औपचारिक जानकारी दिने र सेवाका लागि आवश्यक (थप) सामग्रीहरु खरिद गर्ने’ निर्णय गरेको अस्पतालका सुचना अधिकारी टंक बसेलले जानकारी दिनुभयो ।

‘बिहान १० देखि साँझ ५ बजेसम्म (प्राकृतिक प्रकाशको उज्यालोमा पोष्टमार्टम हुने विश्वव्यापी मान्यता रहेअनुसार) अस्पतालमा पोष्टमार्टम सेवा उपलब्ध रहने’ सुचना अधिकारी बसेलले बताउनुभयो । ‘गत साउन १ गतेदेखि इलाका प्रहरी कार्यालय माडीले घटना अनुसन्धानको अधिकार पाएसंगै बघौंडा अस्पतालले पनि पोष्टमार्टम सेवा सुरुवात गर्ने तयारी तीब्र पारेको’ उहाँले स्मरण गर्नुभयो ।

यसअघि, कुनैपनि घटना, दुर्घटना वा भवितव्यमा कसैको मृत्यु भए महगो भाडा तिरी भरतपुर अस्पताल लैजानुपर्ने अवस्था थियो भने पालो कुरेर पोष्टमार्टम गराउनुपर्ने बाध्यता रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार