२४ कार्तिक, माडी । चार वर्षअघि नेकपा (एमाले) छोडेका नेतृ रामकुमारी झाँक्री र कृष्णकुमार श्रेष्ठ (किसान) पुनः एमालेमा फर्किएका छन्। सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले झाँक्री र श्रेष्ठलाई खादा र पार्टीको झण्डा अर्पण गरी स्वागत गरे।
कार्यक्रममा अध्यक्ष ओलीले उनीहरूलाई एमालेको चुनाव चिन्ह ‘सूर्य’ प्रदान गरे भने झाँक्री र श्रेष्ठले प्रतीकात्मक रूपमा ‘कलम’ चिह्न ओलीलाई हस्तान्तरण गरे। कार्यक्रममा एमाले अध्यक्ष ओलीले घर फर्किएका सबैलाई स्वागत गर्दै भने, “एमाले नै जनताको वास्तविक घर हो, हामी सबै मिलेर बलियो राष्ट्र निर्माणको यात्रामा अघि बढ्नेछौं।”

यससँगै गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमिल्सिना, राजाराम स्याङ्तान, ववि चाम्लिङ, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई, केदार गौतम, सावित्री न्यौपाने, उत्तम श्रेष्ठ, केशव सापकोटा लगायत थुप्रै नेता तथा कार्यकर्ता पनि एमालेमा पुनः प्रवेश गरेका छन्।

२०७८ सालमा एमाले विभाजन हुँदा उनीहरू नेकपा (एकीकृत समाजवादी) तर्फ गएका थिए। तर, हालै माओवादी र समाजवादीबीच एकीकरणको प्रक्रिया अघि बढेपछि उनीहरू पुनः एमालेमा फर्किएका हुन्। घर फर्क अभियानमार्फत एमालेले पछिल्ला महिनाहरूमा विभिन्न तहका पूर्व नेताहरूलाई पुनः पार्टीमा समेट्ने रणनीति अघि सारेको छ।

