२६ कार्तिक, माडी । जीवनको लामो कालखण्ड माडीको दलित आन्दोलनमा खर्चिनु भएका बामपन्थी नेतृ हिरा बरालीको निम्ति आवास घर बनाउन बसन्तपुर बजारका युवाहरुले पहल सुरु गरेका छन् ।
माडी नगरपालिका-५, ढिकुरबारीमा दाजुहरुको कटेरो घरमा बस्दै आउनुभएका बराली पछिल्लो समय स्वास्थ्यमा समस्या आएसंगै असहज र सहयोगापेक्षी अवस्थामा रहनुभएको छ ।

बरालीको अवस्थाबारे जानकारी पाएसंगै माडी-३ बसन्तपुर बजार निवासी नबिन बस्याल, पदम विलाश पन्त, रवि भुर्तेल, प्रेम सुनार, हरिकृष्ण लामिछाने र मिलन पनेरूले बराली निवास निर्माणको सामुहिक अभियान थालेका हुन् ।

भवन निर्माण कार्यका लागि आफूहरुले व्यक्तिगत लागत समेत जुटाउँदै र अन्य सहयोगदाताहरुलाई पनि अभियानमा जोडिन आह्वान गरेको नबिन बस्यालले बताउनुभयो । हालसम्म केहि संख्यामा ब्लक र २५ बोरा सिमेन्टको व्यवस्था भएको उहाँले बताउनुभयो ।

