कला-साहित्य पोष्ट

बैकुण्ठ मेलाको तयारी तीब्र, यसबर्ष गायिका भुमिका गिरी गायक बालचन्द्र बरालको सांगीतिक प्रस्तुति रहँदै

२७ कार्तिक, माडी । माडीको प्रमुखतम् धार्मिक एवं पर्यटकीय स्थल बैकुण्ठधाममा आगामी मंसिर ३ गते लाग्ने बालाचतुर्दशी (बैकुण्ठे) मेलाको तयारी तीब्र पारिएको छ ।

मेलाको तयारी अन्तर्गत हालसम्म मेला लाग्ने चौर र वरपरको क्षेत्र सफाई, खानेपानी व्यवस्थापन, मन्दिर, शिवलिंग र मूर्तिहरूमा रंगरोगन, पार्किङका लागि स्थानीय युवा क्लबलाई जिम्मेवारी प्रदान तथा बैकुण्ठ ताल नजिक बाटोमा ढुंगा छपनी गरिएको मेला आयोजक संस्था – बैकुण्ठ पूजा तथा मेला व्यवस्थापन मूल समितिका अध्यक्ष राजकुमार परियारले बताउनुभयो ।

मेलामा यस वर्ष चर्चित राष्ट्रिय लोकदोहोरी गायिका भुमिका गिरी र इन्द्रेणी कार्यक्रमका चर्चित गायक बालचन्द्र बरालको विशेष सांगीतिक प्रस्तुति रहने संयोजक परियारले बताउनुभयो । गायिका गिरीका ‘देउरालीमा पर्खि बसे आएनौ माया’, ‘चोली मैलै भो’ लगायतका गीतहरू चर्चित छन् । त्यस्तै, गायक बालचन्द्र बराल लाइभ दोहोरी प्रस्तुति लागि चिनिन्छन् ।

यसैबीच, मेलाको सन्दर्भमा यस वर्ष पनि भेट्रान तथा युवा भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा प्रथम पुरस्कार २५ के.जी.को खसी र द्वितीय पुरस्कार दुईवटा हाँस राखिएको अध्यक्ष परियारले जानकारी दिनुभयो ।

बालाचतुर्दशी बैकण्ठेश्वर मेलामा हरेक बर्ष सत्बिज छर्ने, पञ्चधारा स्नान गर्ने, बजार मेला र खेल स्पर्धा सञ्चालन र राष्ट्रिय कलाकारहरुसहित बृहत् साँस्कृतिक कार्यक्रम हुँदै आएको छ । मेलामा माडीसंगै देशका विभिन्न स्थानबाट हजारौंको संख्यामा भक्तजन र दर्शनार्थीको घुइँचो रहने गरेको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार