२७ कार्तिक, माडी । माडी क्षेत्रका व्यवसायिक पशुपालक कृषकहरुलाई लक्षित गरी अभियानकै रुपमा “जलवायु मैत्री असल पशुपालन अभ्यास तथा व्यवस्थापन तालिम” सुरु भएको छ ।
‘गौरवको योजना : खोरेतमुक्त सेतो माडी अभियान’ अन्तरगत चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघको आयोजना र भैरवी दुग्ध उत्पादन सहकारी संस्थाको सह-आयोजनामा माडीका ९ वटै वडाहरुमा २/२ दिन तालिम सञ्चालन हुने भैरवी सहकारीका अध्यक्ष खेमलाल पोख्रेलले जनाउनुभयो ।

नेपालका दुग्ध क्षेत्रको रूपान्तरणका लागि हिफर प्रोजेक्ट नेपालले ‘मिल्की वे’ कार्यक्रम सञ्चालन गरेको छ । सो परियोजना माडी क्षेत्रमा समेत विस्तार हुनेगरी तालिम सञ्चालन सुरू गरिएको बताइएको छ ।

तालिममा सहभागीलाई जलवायु मैत्री पशुपालन प्रविधि, दुध उत्पादन वृद्धि गर्ने उपाय, पशु स्वास्थ्य, फिड व्यवस्थापन तथा बजार व्यवस्थापनका विषयमा प्रशिक्षण दिइने जनाइएको छ ।
माडी नगरपालिका र राष्ट्रिय व्यवसायिक पशुपालन तथा दुध उत्पादक कृषक समाज नेपालले तालिममा सहकार्य गरेका छन् । तालिममा माडीका दुग्ध व्यवसायी, किसान तथा सहकारीका प्रतिनिधिहरूको सहभागिता रहँदैछ ।

