माडीमा रहेका मौसमकाे जानकारी दिने यन्त्रहरु काम नलाग्ने अवस्थामा

604
SwadeshPost

ठूलो तामझामसहित करोडौं खर्चिएर माडीमा जडान गरिएका जल तथा मौसमी अवस्थाको जानकारी दिने यन्त्रहरु काम नलाग्ने भएका छन् ।

राष्ट्रसंघीय विकास कार्यक्रम (यु.एन.डि.पी.)संगै तात्कालीन जिल्ला विकास समिति चितवन र माडीका साविक चारवटै गाउँ विकास समितिमा गठित समुदायमा आधारित विपद् जोखिम व्यवस्थापन समितिको लगानीमा माडीमा सञ्चालित बृहत्तर विपद् जोखिम व्यवस्थापन परियोजनाले मौसमी यन्त्रहरु जडान गरेको थियो । तर पछिल्लो दिनमा रीउ नदीमा लगाइएको बाढीको अवस्थामापक यन्त्रबाहेक अन्य यन्त्रहरुले नतिजा पठाइरहेको देखिएको छैन ।

बर्षायाममा बाढी आई ठूलो जनधनको क्षती हुनेगरेकोले बाढीजन्य प्रकोपको पूर्वसुचना प्रवाहका लागि माडीको गोबिन्दबस्ती, हरिनगर, बनकट्टा र छरछरेसंगै रीउ नदीको सिरान क्षेत्रका रुपमा रहेको ठोरीमा मौसमी पूर्वसुचना प्रणाली जडान गरिएका थिए । कोरियन सहयोग नियोग (कोइका)को सहयोगमा जडान गरिएका सो यन्त्रहरुले बर्षामापनसंगै तापक्रम, आद्र्रता, हावाको गति र दिशा, सौर्य रेडिएसन र जमीनको तापक्रम तथा चिस्यान समेत मापन गर्ने गरेका थिए । नेपाल टेलिकम र एन.सेल.को सिमकार्डमार्फत सो स्टेशनहरुले जल तथा मौसम बिज्ञान विभागमा निरन्तर सुचना पठाउने प्रणाली रहेको भएपनि परियोजना सकिएसंगै मौसमी यन्त्रहरुको रिपोर्ट आउन बन्द भएको देखिएको हो ।

मौसमी रिपोर्ट आउन बन्द भएसंगै परियोजनाले माडी नगरपालिका कार्यालयमा जडान गरिदिएको अलार्म सहितको डिस्प्ले सिस्टम पनि काम नलाग्ने भएको छ । बर्षायाम चलिरहेको र जुनसुकै दिन बाढीजन्य क्षती हुनसक्ने सम्भावना प्रवल रहेको अवस्थामा तत्कालै सो संयन्त्र सुचारु गराउन सरोकारवाला निकायको ध्यान पुग्नु जरुरी देखिन्छ ।

SwadeshPost