रेडियो सुचनाका माध्यमबाट भेटिए दुई दिनदेखि हराइरहेका मानिस

321
SwadeshPost

दुई दिनदेखि हराइरहेका एक व्यक्ति रेडियो सुचनाका माध्यमबाट भेटिएका छन् । माडीको लक्ष्मीनिवासस्थित सहयोगी समाज नेपालको अनाथालयमा आश्रय लिइरहेका सुस्त मनस्थिति भएका तथा बोल्न नसक्ने मानिसलाई रेडियो सुचनाका माध्यमबाट फेला पारिएको हो ।

गत शनिवार बिहान ११ बजे लक्ष्मीनिवासबाट सम्पर्क बिहीन भएका अन्दाजी बर्ष २० का बुद्धिमान चेपाङलाई खोज्न संस्थाले इलाका प्रहरी कार्यालयसंग समन्वय गर्दै टोली खटाएको थियो । तर आज रेडियोमा बजेको मानिस हराएको सुचनालाई आधार मान्दै हुलिया मिलेको भन्दै भैरवपुरका स्थानीयबासीले स्वदेश एफ.एम.लाई खबर गरेपछि हराएका चेपाङ्लाई खोजीरहेको टोली भैरवपुर पुगी उनलाई जिम्मा लिएको थियो ।

हराइरहेका चेपाङलाई भेटेसंगै उनलाई फेला पारी सकुशल आश्रय दिएका भैरवपुरबासी, सहयोग गर्ने प्रहरी तथा रेडियो सुचना प्रसारण गरेको स्वदेश एफ.एम.लाई सहयोगी समाज नेपाल (हेल्पिङ सोसाइटी)का अध्यक्ष टिकाराम आचार्यले आभार व्यक्त गर्नुभएको छ । यसअघि पनि स्वदेश एफ.एम.बाट नागरिकता प्रमाणपत्र देखि सवारी चालक अनुमती पत्र लगायतका कागजात भेटिएको तथा हराएको सुचना प्रकाशन एवं प्रसारण भएसंगै सम्बन्धित कागजात धनीले प्राप्त गर्ने गरेका छन् । रेडियोले मानिस हराइको तथा भेटिएका सुचनाहरु सामाजिक दायित्वका रुपमा निःशुल्क प्रशारण गर्दै आइरहेको छ ।

SwadeshPost