जन्मका आधारमा नागरिकता पाएका माडीका मधेशी बाबुआमाका सन्तानहरूले अझैसम्म नागरिकता पाउन सकेका छैनन् । माडीमा तीन पुस्ता अगाडिबाट बसोबास गरिरहेका रतनी, खादरटोल, कल्याणपुर, पाकिस्तान टोल, बरुवा, बसन्तपुर लगायतका ठाउँमा बसोबास गरिरहेका मुख्यतः मधेशी मुलका नागरिकका सन्तानहरू नागरिकताबाट बञ्चित हुनु परिरहेको हो । इलाका प्रशासन कार्यालय माडी तथा जिल्ला प्रशासन कार्यालय भरतपुरले कानुनको अभाव देखाउँदै जन्मका आधारमा नागरिकता लिएका बुबाआमाका छोराछोरीहरुलाई नागरिकता नदिएको जनाएको छ ।
नेपालको संबिधानको दफा १० मा कुनैपनि नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने हकबाट बञ्चित नगरिने स्पष्ट उल्लेख रहेको तथा धारा ३ मा संबिधान प्रारम्भ हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता पाएका नागरिकका सन्तानले बाबु र अामा दुबै नेपालको नागरिक छन् भने बालिग भएपछि बंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ भनी स्पष्ट व्याख्या रहेको छ । तर बिचमा सर्बोच्च अदालतले मिति २०६८ फाल्गुन २२ गतेको गरेको निर्णयका कारण जन्मका आधारमा नागरिकता पाउनेका सन्तानलाई नागरिकता जारी हुन नसकेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
नागरिकता नपाएका कारण उच्च शिक्षा पढ्न नपाएको, बैंक खाता खोल्न नसकेको, सरकारी जागिर खानबाट बञ्चित हुनुपरेको, जग्गाजमीन तथा भौतिक सम्पत्ती जोड्न नसकेका र एक नागरिकले पाउने वालिग मताधिकार तथा चुन्ने चुनिने अधिकारबाट बिमुख हुनुपरेको माडीको मधेशी समुदायले गुनासो गरेका छन् । तीन पुस्ता अगाडिदेखि माडीको खोरिया फाँड्दै तथा जंगली बाघ भालुसंग जुद्धै माडीका गाउँहरुमा खेतीपाती गर्दै आएका मधेशी समुदायले नागरिकता नपाउँदा अनागरिक एवं अपमानित भई बाँच्नु परिरहेको दुखेसो गरिरहेका छन् ।