माडीमा स्वाइन फ्लु भाइरसको संक्रमण देखियाे, पुष्टी हुन भने बाँकी

218
SwadeshPost

माडीमा पहिलोपटक स्वाइन फ्लु भाइरसको संक्रमण देखिएको छ । बसन्तपुर बजारमा रहेको बघौंडा अस्पतालमा उपचारमा आउनुभएका माडी–३ धोबाहाका अन्दाजी बर्ष ३५ का एक पुरुष तथा माडी नगरपालिका वडा नं. ४, बीरञ्चीका अर्का एक बिरामीमा यो भाइरसको संक्रमण देखिएको हो । बघौंडा अस्पतालको रिफरमा दुबै बिरामीहरु भरतपुरस्थित कलेज अफ मेडिकल साइन्समा थप उपचारका लागि गएकोमा त्यहाँ गरिएको परीक्षणमा स्वाइन फ्लु पोजेटिभ भेटिएको तर यसकाे अाैपचारिक पुष्टी भने थप मेडिकल परीक्षण पश्चात गरिने जनाइएकाे छ । गोपनियताको हकको रक्षा गर्दै स्वदेश एफ.एम. र स्वदेश पोष्ट अनलाइनले बिरामीहरुको नाम भने सार्वजनिक गरेका छैनौं ।

स्वाइन फ्लु लाग्दा कामज्वरो आउने, निल्न गाह्रो हुने, मांशपेशी तथा हाडजोर्नी दुख्ने, टाउको दुख्ने, कमजोरी महसुस हुने र कसैकसैलाई जण्डीस पनि हुने जस्ता लक्षणहरु देखापर्ने बघौंडा अस्पतालका मेडिकल अधिकृत डा. मिलन ढुंगानाले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । यस रोगबाट बच्न सुँगुर, बंगुर तथा हाँसको मासु राम्ररी पकाएर मात्रै खाने, सुंगुर बंगुर तथा हाँसका खोहरु घरभन्दा टाढा राख्ने, खोरहरुको राम्ररी सरसफाइ गर्ने, सुंगुर बंगुरको दिशापिसाब उचित ठाउँमा व्यवस्थापन गर्ने तथा कुनै लक्षण देखापरे स्वास्थ्य संस्थामा पुगी उपचार गराउनुपर्ने डा. ढुंगानाले जनाउनुभयो ।

सन् २००९ मा सुँगुर, मानिस र चरामा पाइने इन्फ्लुएन्जा भाइरसबीच त्रिपक्षीय रिएसोर्टमेन्ट भई पहिलो पटक स्वाइन फ्लू देखा परेको थियो । त्यसको १ बर्ष भित्रै २१४ देशमा यो फैलन गई करिव १८ हजार मानिसको ज्यान लिएको थियो । नेपालमा पनि बेलाबेला यो भाइरस देखा परिरहेको छ ।

स्वाइन फ्लू एक खतरनाक भाइरस हो जुन सुँगुरको कारण फैलिने गर्दछ । यसलाई केहि ठाउँहरुमा सुँगुर ज्वरो पनि भन्ने गरिएको छ । ‘म्युटेसन’का कारण हाल यस भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको पाइएको छ । हाल यो भाइरस एच.वान.एन.वान., एच.वान.एन.टु., एच.थ्री.एन.टु., एच.थ्री.एन.वान. आदि रुपमा देखा परेका छन् । यी सबै मध्ये अहिले एच.वान.एन.वान.सबैभन्दा खतरनाक भाइरसका रुपमा देखिएको छ, जसले उपल्लो र तल्लो श्वासप्रश्वास प्रणालीलाई आक्रमण गर्छ । भाइरसहरुले आफ्नो क्षमता पहिलेभन्दा आठ गुणासम्म धेरै विकास गरेको बैज्ञानिकहरुको धारणा रहेका छ ।

SwadeshPost