माडीको बघौंडा गाउँमा थारु समुदायद्वारा सामुदायिक होमस्टे सञ्चालन हुने

270
SwadeshPost

आदिवासी थारुहरुको पुरानो बस्तीका रुपमा परिचित माडीको बघौंडा गाउँमा सामुदायिक होमस्टे सञ्चालन हुने भएको छ ।
पर्यटन विकास समिति, माडी नगरपालिकाको पहल तथा सीप नेपाल संस्थाको समन्वयमा बघौंडा गाउँमा आदिवासी थारू जातिको सँस्कृति र पहिचान झल्किने होमस्टे संचालन हुन लागेको पर्यटन विकास समिति माडी नगरका सचिव गोविन्द न्यौपानेले जानकारी दिनुभयो । होमस्टेको नाम माडी सामुदायिक होमस्टे राखिएको छ ।

यसैबिच, होमस्टे सञ्चालन तथा व्यवस्थापनका लागि साेमबार बघौंडा गाउँमा बसेको बैठकले ओमप्रकाश महतोको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । कार्यसमितिको उपाध्यक्ष आशा चौधरी, सचिव ओमप्रकाश चौधरी, सह-सचिवमा प्रमिला महतो र कोषाध्यक्षमा रजपतिया चौधरी रहनुभएको छ भने सदस्यहरूमा बबि महतो, मनोज चौधरी, कुमेश्वर महतो, जुनमाया महतो, बलिराम चौधरी र नवल किशोर चौधरी चयन हुनुभएको छ । माडी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष पुरन महतोको उपस्थितिमा सम्पन्न बैठकबाट होमस्टे सञ्चालन तथा व्यवस्थापन समिति चयन भएको हो । होमस्टे सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु स्थानीय थारू जातिको सँस्कृति, रहनसहन एवं परिकारमा रमाउने विश्वास दिइएको छ ।

माडी उपत्यकामा यसअघि नै पुन मगर समुदायको बाहुल्यता रहेको अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे सञ्चालनमा रहेको छ भने बोटे समुदायको पहलमा बनकट्टामा व्यक्तिगत स्तरबाट होमस्टे सञ्चालन भइरहेको छ ।

SwadeshPost